बागलुङ नगरमा आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना 

  • साउन १, २०८०

बागलुङ ।   आकस्मिक रुपमा निम्तिन सक्ने विपद्को सहज व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गरेको छ । विपद्का बेला तत्काल हटलाइन सूचनाको आधारमा खोजी र उद्धारमा खटिनका लागि सहजहोस भन्ने उद्देश्यले नगरपालिकाले केन्द्र संचालनमा ल्याएको हो । विपद्लाई रोक्न र न्यूनीकरण गर्न स्थानिय सरकारको अधिकार अनुसार आवश्यक सामाग्रीको व्यवस्थापन गरी केन्द्र संचालनमा ल्याएको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । केन्द्रको सोमबार उद्घाटन गरिएको छ । 
केन्द्रमा दमकल, एम्बुलेन्स, शववाहन, डोजर र अन्य उद्धारका सवारी साधन, मानवीय स्रोत समेत परिचालन गरी संचालनमा ल्याइएको छ । केन्द्रबाट सञ्चालन हुने सेवा निःशुल्क हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । 
‘विपदका सामग्री कति र कस्ता चाहिन्छन ति सवै व्यवस्थापन गरेका छौं, २४ सै घन्टा कर्मचारी रहने, टोलफ्री नम्बर र हटलाइन नम्बर सञ्चालन गर्ने काम समेत यहाबाटै हुने छ ।  खोजी उद्धारमा खटिने जनशक्तिको व्यवस्थापनमा पनि प्रहरी र सेनासँगको सहकार्य हुनेछ ।’
नगरपालिकामा केन्द्रको संचालन सँगै जिल्ला भरी नै सहज हुने जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए । उनले सरोकारवालाहरूले विपद व्यवस्थापनको कार्यलाई समन्वयात्मक र प्रभावकारी बनाउनका सहयोगी भुमिका खेल्नुपर्ने बताए ।  केन्द्रको स्थापना सँगै एकीकृत खोजी उद्धारको काम गर्दा प्रभावकारी हुन्छ,’ थापाले भने,– ‘यो अभ्यासले जनताले समयमा राहत र उद्धार पाउनेछन् ।’ विभिन्न सुरक्षा निकायसँग पनि हामी सहयोग मागौं । यसले भोली आईपर्ने विपद व्यवस्थापनका निम्ती सहज हुनेछ ।’
बागलुङ नगरपालिकाले केन्द्रमै दमकलमा कम्तीमा दुई खेप स्वचालित मेसिनबाट पानी भर्ने व्यवस्था पनि गरेको छ । १२ मिनेटमा दमकल भरेर पठाउन सकिने गरी प्रविधि जडान भएको छ ।
नगरपालिकाको तर्फबाट २ जना विपद् व्यवस्थापनका तालिम प्राप्त कर्मचारीसहित तीन जना चालक समेत यही बस्ने व्यवस्था गरिएको नगरप्रमुख श्रेष्ठले बताए । सदरमुकामको केन्द्रमा रहेको नगरपालिकाले विपद हुनुपुर्वनै थालेको व्यवस्थापनको पाटो निकै स्वागतयोग्य रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताईन । उनले  विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका क्षेत्रमा स्थानिय सरकार र प्रशासन एक्लैको प्रयासले नहुने हुँदा यस क्षेत्रमा संयूक्त कार्य गरी सबैको सहकार्य आवश्यक रहेको बताईन । विपदको बेला जति धेरै समन्वय र सहकार्य भयो त्यतिनै छिट्टो राहत, उद्दार र पुनस्र्थापनामा सहजता हुने श्रेष्ठको भनाई छ । 
कार्यक्रम नगरप्रमुख श्रेष्ठको अध्यक्षता र स्वागत उप्रमुख राजु खड्काको धन्यवाद मन्तव्य र प्रशासन शाखा प्रमुख भिमसेन पन्तको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया