पत्रकार महासंघ बागलुङको २५ औं स्थापना दिवस सम्मान तथा पुरस्कार

  • असार २६, २०८२

नेपाल पत्रकार महासंघ बागलुङको २५ औं स्थापना दिवसको सन्दर्भमा पूर्व अध्यक्ष र ८ जना पत्रकारलाई पुरस्कृत गरिएको छ । महासंघले आयोजना गरेको रजत जयन्ती मूल समारोह सहित नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कार र हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार समर्पण कार्यक्रममा मार्फत पूर्व अध्यक्ष सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । मुल समारोहको उद्घाटन गर्दै
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले अहिले पत्रकारिता पेशा जोखिममा रहेको बताएकी छिन् ।  शर्माले अहिले पत्रकार पत्रकारिता जोगाउनुपर्ने अवस्थामा आएको बताईन् । 
‘अहिले पत्रकारिता जोगाउनुपर्ने अवस्थामा छ, एउटा पत्रकारिता गरिरहेका भन्नेहरुबाट र अर्को पत्रकारिताले प्रश्न गर्दा आत्तिएर पत्रकारितामाथि आक्रमण गर्नेबाट जोगाउनुपर्छ’ उनले भनिन् ,‘हाम्रो पत्रकारितामा तालिम लिएर आउनेहरुको संख्या कम छ । यसले गर्दा हाम्रो पत्रकारितामा समस्या भैरहेको छ ।’ उनले पत्रकारितालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिईन् । ‘पत्रकारिताले आफ्नो व्यवसायिक धर्म गुमाउनु हुँदैन,’अध्यक्ष शर्माले भनिन्,‘गलत कुरामा खबरदारी गर्ने र सरकारका गतिविधिमा प्रश्न उठाउने काम पत्रकारिताको धर्म हो । हामीले त्यसलाई भुल्नु हुँदैन ।’
 अध्यक्ष शर्माले पत्रकार महासंघले सीपमूलक र व्यवसायिक तालिम दिएर पत्रकारलाई व्यवसायिक दक्षता वृद्धिमा ध्यान दिनुपर्ने बताईन् । ‘हामी पुरस्कृत हुँदा र कुम जोडेर मञ्चमा बस्दा पनि प्रश्न गर्नबाट पछि हट्नु हुँदैन, हाम्रो मुख्य धर्म नै प्रश्न गर्नु हो,’ अध्यक्ष शर्माको भनाई छ । आम नागरिकमा सूचनालाई समाचार भन्ने भ्रम पैदा भएकाले त्यसलाई चिर्नका लागि पत्रकार नै लाग्नुपर्ने उनले बताईन् । ‘सूचना समाचार होईन भन्ने कुरा नागरिकसम्म पु¥याउने काम हामी पत्रकारको हो,’उनी भन्छिन्,‘सूचना र समाचारलाई एउटै डालीमा हालेर हेर्दा विभिन्न टिका टिप्पणी भईरहेका छन् । त्यसले समस्या भएको छ ।’ 
उनले लोकतन्त्र कमजोर बनाउने विभिन्न भ्रम फैल्याउने काम भैरहेको बताइन् । ‘अहिले अफवाह र भ्रमको खेती मौलाउँदो छ, यसले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भैरहेको छ,’उनले भनिन्,‘लोकतन्त्र कमजोर हुनु भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर हुनु हो । हाम्रो दायित्व लोकतन्त्रको सुदृढीकरणमा ध्यान दिनु पनि हो ।’ पछिल्लो समय पत्रकार र पत्रकारितामाथि राज्यका निकायबाट आक्रमण भैरहेको उनले बताईन् । ‘पत्रकारले अदालत र प्रहरी कार्यालय धाउनुपर्ने समस्याहरु आईरहेका छन्, यसले हाम्रो पत्रकारितालाई धरापमा पार्ने प्रयास भैरहेको छ । यसका लागि हामी नै सचेत भएर लाग्नुपर्नेछ,’शर्माले भनिन् । 

सात पत्रकार पुरस्कृत
कार्यक्रममा बागलुङका सात पत्रकार पुरस्कृत भएका छन् ।  ‘हरिलक्ष्मी–नारायण प्रसाद स्मृति पत्रकारिता र नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कारबाट गरी ७ जना पत्रकार पुरस्कृत भएका हुन् । हरिलक्ष्मी नारायणप्रसाद स्मृति पुरस्कारबाट चार जना र नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत भएका छन् । 
हरिलक्ष्मी–नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कार –२०७९ बाट किरण आचार्य, २०८० बाट कोपीला कँडेल, २०८१ बाट दिल शिरीष, २०८२ बाट सुवास आचार्य पुरस्कृत भएका हुन् । उनीहरु जनही रु २० हजारसहित पुरस्कृत भएको पत्रकार महासंघ बागलुङ  सचिव नारायण रिजालले बताए ।  । नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार तारानाथ आचार्य, २०८० बाट प्रकाश बराल, २०८२ बाट प्रदीप पन्त पुरस्कृत भएका छन् । उनीहरु जनही रु २० हजार र सम्मान पत्रले पुरस्कृत भएका छन् । 
यसैबीच नेपाल पत्रकार महासंघ बागलुङले रजत जयन्तीको अवसरमा महासंघका पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । २०५७ सालमा असार २५ गते स्थापना भएको बागलुङ शाखाले रजत जयन्तीको अवसरमा अहिले सम्मका पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले ६ जना पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । पहिलो अध्यक्षको रुपमा रहनुभएको विदुर खड्का दिवंगत भइसक्नुभएको छ भने निर्वाचित पहिलो अध्यक्ष नारायणदत्त कँडेल अनुपस्थिति भएपछि छ जनालाई सम्मान गरिएको थियो ।
सम्मान हुनेमा पूर्वअध्यक्षहरु राजेशचन्द्र राजभण्डारी, हरीनारायण गौतम, राम बहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, दिल शिरिष र नरेश कँडेल रहेका छन् । रजत जयन्तीको अवसरमा महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको बाहुलीबाट पूर्वअध्यक्षलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । बागलुङको पत्रकारितको संस्थागत विकास, शाखाको सक्रियता र पत्रकरिता क्षेत्रको विकासका लागि उनीहरुको योगदान महत्वपूर्ण रहेको भन्दै सम्मान गरिएको अध्यक्ष राम थापाले जानकारी दिए । 
डिजिटल पत्रकारिताले चुनौती थपिएको बताउदै सामाजिक सञ्जालमा आउने सबै सुचना समाचार नहुने बताउदै शर्माले भ्रमपूर्ण सुचनाको पछि नलाग्न सबैलाई आग्रह गरिन् ।  सत्य र तथ्यमा आधारित भएर गरिने पत्रकारिताले समाजलाई सुशुचित गर्ने शर्माले बताईन् । महासंघले रजत जयन्तीको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिताका खेलाडीलाई पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरेको थियो ।
मंगलबार भएको खेलमा नेपाल पत्रकार महासघ कास्की बिजयी भएको थियो । म्याग्दी, बागलुङ र कास्कीका ५ टिमले फुटसल खेलेका थिए । त्यस बाहेक स्थापना दिवसको अबसरमा ध्यान शिविर लगायतका अन्य गतिविधि पनि संचालन भएका थिए । २०५७ सालमा धौलागिरि शाखाको रुपमा बागलुङ, पर्वत र म्याग्दीका पत्रकारको शाखा स्थापना भएको थियो । २०६३ पछि भने म्याग्दी र पर्वत छुट्टै शाखा भएपछि धौलागिरि शाखा बागलुङ शाखा बनेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेश महासचिव तथा न्युनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य जमुना बर्षा शर्मा, पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कृतबाट पुर्व अध्यक्ष दिल शिरिष, महासंघ पर्वत शाखाका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल प्रेस युनियनका अध्यक्ष संगम घर्तीमगर र  हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारका संस्थापक तिर्थ श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सचिव नारायण रिजालको संचालन र उपाध्यक्ष सिर्जना पन्तको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय