बागलुङ- नेकपा एमाले बागलुङ एक्लै चुनाव जान सक्षम रहेको जिल्ला अध्यक्ष हिराबहादुर केसीको बताए । एमाले बागलुङको दोस्रो बैठकको सोमबार पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै केसीले एमाले प्रतिको जनलहर देखेर अन्य दलहरु एक्लै चुनावमा जान डराएको हुँदा एमाले एक्ले चुनावमा जान सक्षम भएको दाबि गरे । पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै उनले एमाले प्रति जनताको भरोसा देखेर एक्लै चुनावमा जान डराएकाले गठबन्धनको प्रचार गरिएको बताए । एमालेको क्रेज देखेर गठबन्धन समेत तनावमा परेको उनको भनाई थियो ।
‘कम्युनिष्टको अभिभावक भएका कारण अघिल्लो निर्वाचनमा आफ्नो हैसियत भन्दा खुम्चिएर गठबन्धन गरेका थियौ केसीले भने,–’जिल्लामा कम्युनिष्ट पार्टी एक भएर सवै दललाई फाईदा भएको थियो । यो पाँच वर्षमा एमालेको संगठनमा उल्लेख्य वृद्धि भएको गठबन्धनधारी नेताहरुले समेत थाहा पाए, एक्लो एमाले संग लड्न पाँच दल एक हुनुले एमालेको तागत पुष्टी ग¥यो ।’ उनले विचार र सिद्दान्त मिल्ने संग मात्रै तालमेल गरेर जाने संभावना रहेको बताए ।
एमालेले आगामी बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनलाई व्यवस्थित गर्नका निम्ती ५ हजार ५५५ सदस्यीय मुल निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । बैठकको निर्णय सार्वजनिक गर्दै जिल्ला सचिव विष्णु भुषालले निर्वाचनलाई थप व्यवस्थित गर्नका निम्ती अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा मुल निर्वाचन परिचालन कमिटि गठन गर्ने बताएका छन । पार्टी केन्द्रको निर्देशन अनुसार चैत २४ गते सबै वडा र चैत २७ गते पालिका स्तरमा बैठक बसी सर्वसम्मत रुपमा उमेद्वार चयन गर्ने र सर्वसम्मत हुन नसकेको खण्डमा १ जना अनिवार्य महिला सहित ३ जना सम्भावित उम्मेददवारको नाम सिफारिस गर्ने निर्णय गरेको सचिव भुसालले जानकारी दिए । बैठकले जिल्ला कमिटि सचिव विष्णु भुसालको संयोजकत्वमा १० वटै पालिकाका अध्यक्षहरु रहने प्रतिवद्धता पत्र तयार गर्ने र बैशाख ९ गते पार्टीको स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने निर्णय गरेको छ । निर्वाचनकै लागि लक्षित गरेर प्रचार विभाग प्रमुख चन्द्र गणेशको संयोजकत्वमा ५०१ सदस्यीय प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय गरेको छ । एमालेले जिल्लाका ८५ वटै वडामा आगामी वैशाख १ गते निर्वाचन परिचालन कार्यालय संचालन गर्ने बताएको छ । पत्रकार सम्मेलनको संचालन प्रचार प्रसार विभाग प्रमुख चन्द्र गणेशले गरेका थिए ।