बागलुङ- पत्रकार दिलीप पर्तेलमाथि भएको हातपात र दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले गम्भीर ध्यानाकर्षण गराएको छ । बागलुङबाट सञ्चालित अनलाइन न्यूज पोर्टल ईपरीन्यूज डटकममा कार्यरत पत्रकार पर्तेललाई आफ्नै वडामा रहेको स्वास्थ्य केन्द्र प्रमुखले दुव्र्यवहार गरेका छन । महासंघका सचिव नारायण रिजालद्धारा जारी गरिएको विज्ञप्तीमा गत जेठ २९ गते ‘कार्यालय समयमा मोटरसाइकल सिक्दै स्वास्थ्यकर्मी’ शीर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर पर्तेलमाथि हातपात र दुव्र्यवहार गरेको उल्लेख गरिएको छ । विज्ञप्तीमा बागलुङको जैमिनी नगरपालिका–३ दमेक स्थित नेपाने सहरी स्वास्थ्य केन्द्रका प्रमुख भीम पुनले बुधबार ३ नं. वडा कार्यालयमा गरेको दुव्र्यव्यहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
पत्रकार पर्तेलका अनुसार उहाँको मोबाइलसहित सञ्चार सामग्री समेत नियन्त्रणमा लिइएको छ । उक्त घटनाबाट स्वतन्त्र प्रेसको अधिकारमाथि गम्भीर खलल पुगेको हाम्रो ठहर छ । कुनैपनि समाचारमा गुनासो वा विमति भएमा प्रचलित विधि वा कानुनी प्रकृयाबाट समस्याको समाधान खोज्नुपर्नेमा पत्रकारलाई धाकधम्की दिनु र हातपात गर्नु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कार्य हो, विज्ञप्तीमा भनिएको छ, पत्रकारको भौतिक सुरक्षामै गम्भीर प्रश्न उठ्ने गरी भएको उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन महासङ्घ सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ । घटना भएको वडा पत्रकार पर्तेलको आफ्नै जन्मगाउँ हो । यस विषयमा स्वास्थ्य संस्था प्रमुख भीम पुनले भने यस अघि प्रकाशित समाचारलाई लिएर आफुलाई चित्त नबुझेको कुरा पर्तेलसँग गरेको र केही छलफल भएको बताएका छन ।
