दादुरा संक्रमण फैलिएको ढोरपाटन क्षेत्रमा खोप अभियान संचालन गरिने

  • फाल्गुण २७, २०८२

बागलुङ- बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा नियन्त्रणका लागि खोप अभियान संचालन गरिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९  क्षेत्रमा दादुराको संक्रमण फैलिएपछि यसको नियन्त्रणका निम्ती खोप अभियान संचालन गर्न लागिएको हो । ढोरपाटन नगरपालिका क्षेत्रका १० वर्ष देखी १९ वर्ष सम्मका ६ हजार ७६३ बालबालिका र किशोर किशोरीलाई खोप लगाउने तयारी थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ जनाएको छ । खोप अभियान यही फागुन २९ गते देखी चैत्र १ गते सम्म संचालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक प्रमुख प्रविण शर्माले जानकारी दिए ।  शर्माका अनुसार तत्काललाई दादुरा नियन्त्रण गरी थप फैलन नदिनका लागि नगरपालिका भित्रका सबै वडाका १० देखी १९ बर्ष उमेर समुहका किशोर किशोरीलाई दादुराको खोप प्रदान गर्न लागिएको छ ।  किशोर किशोरी सहित उपचारमा सम्लग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुरा बिरुद्धको खोप लगाउने तयारी थालिएको शर्माले जानकारी दिए । 
यस क्षेत्रमा दादुरा रोगका शंकास्पद ७४ जना बिरामी फेला परेका थिए । जसमध्ये ३२ जना भर्ना भएर उपचार भइसकेको छ । सात जना बालबालिका अझै उपचाररत रहेका छन् । 
दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका–८ बोबाङ स्वास्थ्य चौकीमा आइसोलेसन तयार गरेर उपचार भइरहेको 
खोप संचालनका निम्ती ढोरपाटन नगरपालिकाका सवै स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयं सेविका खटिने छन भने  अपुग स्वास्थ्यकर्मी छिमेकी गाउँपालिका बडिगाड र निसीखोलाबाट समेत खटाइएको छ ।  स्वास्थ्य संकटग्रस्तका रुपमा लिएर संक्रमितको खोजतलास र उपचार संगै दादुरा नियन्त्रणका लागि खोप लगाउने तयारी गरिएको हो । 
फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा संक्रमण भएको पुष्टी भएको थियो । त्यस यता थप पाँच जनामा संक्रमण पुष्टी भएपनि अन्यलाई लक्ष्यण देखिएकाले नियन्त्रणको योजना ल्याइएको हो ।  
शंकास्पद  बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्यचौकीको आइसोलेसनमा उपचार गरिएको छ । 
हावाबाट सर्ने दादुराको संक्रमणबाट मानविय क्षती हुन नदिन र समयमै उपचार गराउनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप पठाएको छ । बुर्तिबाङ अस्पतालमा ३० वटा बेड, औषधी र आवश्यक सामग्री स्वास्थ्यमन्त्रालय गण्डकी प्रदेशसले व्यवस्थापन गरी पठाएको थियो । 
गाउँगाउँमै पुगेर नमुना संकलन, परिक्षण र संकास्पदलाई अस्पतालमै राखेर उपचार सुरु गरेका कारण छिट्टै नियन्त्रण गर्न सकिने अपेक्षा राखिएको छ । अधिकांश बिरामीलाई ज्वरो, खोकी र शरीरमा बिबिरा आउने गरेको पाइएको छ । नेपाल सरकारले सन् २०२६ भित्रै दादुरा रुबेलालाई ‘जनस्वास्थ्य समस्या नरहेको बनाउने’ अभियानलाई ढोरपाटनमा जोडेको हो ।
बागलुङ जिल्लामा सन् २०२२ मा गलकोट नगरपालिकामा १ जनालाई दादुरा संक्रमण देखिएको थियो । सन् २०२४ मा निसीखोला गाउँपालिकामा १ जनामा संक्रमण देखिएको थियो । 
दादुरा संक्रमण नियन्त्रणका लागि खोपनै सबैभन्दा उत्तम उपाए भन्दै ढोरपाटनका १० देखि १९ वर्ष उमेर समुहका सबै बालबालिकालाई तत्काल खोप लगाउन थालिएको हो । बुधबार भएको जिल्ला खोप समन्वय समितिको बैठकमा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले दादुरा नियन्त्रणका लागि सवैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया