बागलुङ - आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनितिक दलहरुले आफ्ना मतदातालाई भेटघाटका कार्यक्रम तिब्र बनाएका छन । बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधि सभा तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र प्रदेश सभा (२) का उम्मेदवार डिल्लीराम सुवेदी यतिबेला मतदाता भेटघाटमा व्यस्त छन । केसी र सुवेदीले जिल्लाको बलेवा क्षेत्रमा आफ्ना मतदातालाई भेटघाट गरेका छन भने शनिबार बरेङ गाउँपालिकामा पुगेका छन । सवै वडा तहमा निर्वाचनका लागि सम्पर्क कार्यालयको संचालन गर्नुका साथै मतदाता सँग भेटघाट र छलफल गरेका छन । ग्रामिण क्षेत्रमा धान कोदो भित्राउने चटारो भए पछि उम्मेदवार मतदाताले कम गर्न लागेको खेत बारीमा पुगेर भेटघाट गर्ने र भोट माग्ने गरेका छन ।
केसी र सुवेदीले चुनावी सभालाई भन्दा पनि मतदातालाई प्रत्यक्ष भेटघाटलाई नै जोड दिएका छन । विगतमा भन्दा अलि फरक शैलिले चुनाव प्रचार प्रसारको अभियान संचालन गरेका उम्मेदवार हरेक मतदाताको घरदैलोमा पुग्ने गरेका छन । ‘विगतमा विभिन्न स्थानमा मतदातालाई बोलाएर चुनावी सभा गर्ने गथ्यौं यस पटक अलि प्रचार प्रसारको शैलि फेरीएको छ काँग्रेसका क्षेत्र नं. १ प्रदेश सभा(२) का सचिव बालकृष्ण शर्माले भने,–‘यस पटक उम्मेदवार सहित हामी सवै जनताको घरदैलोमा पुगेका छौं । जनताको गुनासो सुन्ने काम भैरहको छ । गाउँघरमा काममा नै व्यस्त हुने हुँदा मतदातालाई उम्मेदवार पनि घरमा र खेतबारीमा गएर भेटनु भएको छ ।’ उनले उमेरले ८० वर्ष पुगे पनि प्रतिनिधि सभाका उम्मेदवार चित्रबहादुर केसीको जोसले चुनावी माहोल नै फरक बनाएको बताए । विपक्षीले आराम गर्ने उमेरमा उम्मेदवार भएको भनेर जिस्काईरहँदा केसीले घरघरमै पुगेर मतदातालाई भेटेका छन शर्माले भने ।
केसीले मतदातालाई भेट्दै जनताको चाहना अनुसार पुन घरदैलोमा आएको र संविधानका रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनका आग्रह गरेका छन । उनले मुलुकमा नेकपा एमालेले संगट निम्त्याएको हुँदा देशलाई दुर्घटनाबाट जोगाउन आफु सँगै गठबन्धनका उम्मेदवारलाई मतदान गर्नका निम्ती जनता समक्ष आग्रह गरेका छन । ‘म उम्मेदवार भै रहँदा विपक्षीदलका साथीहरुले आराम गर्नुपर्ने उमेरमा उम्मेदवार भयो भनेर जिस्काउँदा रहेछन । केसीले हास्दै भने,–‘देशको बारेमा चिन्ता नगर्नेले मेरो बारेमा किन चिन्ता गर्नुपर्यौ म संसदमा पुगेर बलियो उस्थिति देखाएर संविधानको रक्षाको निम्ती लाग्नेछु । ढुक्क हुनुहोस जनताकै पक्षमा उभिने छु ।’
केसी सँग सँगै जनताको घरदैलोमा पुगेका प्रदेश सभा (२) का उम्मेदवार डिल्लीराम सुवेदी सँग पनि मतदाताले उत्साहका साथ भेटेका छन । सुवेदी सँग युवा पुस्ता झुम्मिन्छन भने, पाका र पुराना पुस्ताले आर्शिबाद दिँदै राजनितिक यात्राको अझै सफलताको कामना गर्दछन । ‘डिल्ली बाबु यस क्षेत्रको उदाउँदो तारा हो, उसको यहाँ धेरै आशा र भरोसा छ, अमलाचौरका ७० बर्षिय आत्माराम शर्माले भने,–‘हाम्रो छोरा पुस्ताले संसद छिर्दै गर्दा यस क्षेत्रको विकासका निम्ती पक्कै फाईदा हुनेछ । यस पटक नयाँ र पुराना दुवै पुस्तालाई रोज्नुपर्छ । उनले उम्मेदवारहरु निर्वाचनको मात्र नभएर अन्य बेला पनि जनताको घरदैलोमा आउुनपर्ने भन्दै सुवेदीलाई सम्झाएका थिए ।
जनताको घरदैलोमा पुग्दा अधिकाशं मतदाताले उम्मेदवारहरु चुनाव जितेपछि फर्केर नआएको गुनासो पोखेको उम्मेदवार सुवेदी बताउँछन । ‘हामी घरदैलोमा पुग्दै गर्दा अधिकाशं मतदाताको गुनासो जितेर गएपछि फर्केरै नआएको भन्ने आएको छ । सुवेदीले भने–‘तर मैले बाचा गरेको छु र बाचा पुरा पनि गर्नेछुु । निर्वाचन जिते पछि जसरी मत माग्न घरघरमा पुगेको थिए त्यसैगरी जनताको समस्या बुझनका लागि घरघरमै पुग्नेछु । म एउटा युवाको प्रतिनिधित्व गरेको छु चित्रबहादुर काका पाका पुस्ताको । हामी दुई पुस्ताकाले यस क्षेत्रको विकास निर्माणमा एउटा छुट्टै पहिचाहन ल्याउने छौं ।’ सुवेदीले अधिकाशं मतदाताले गाउँको विकासकै निम्ती जोड दिन आग्रह गरेको बताए ।
केसी र सुवेदी मात्र हैन नेकपा एमालेका उम्मेदवार डा. सुर्य पाठक प्रदेश सभाका उम्मेदवार हिराबहादुर केसी र नवराज पौडेलले पनि घरदैलो अभियान नै संचालन गरेका छन । उनिहरु विभिन्न गाउँमा गएर चुनाव प्रचार प्रसारका काम लाई तिव्र बनाएका छन ।
बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधि सभा तर्फ सत्ता गठबन्धनका केसी र नेकपा एमालेका डा. सुर्य पाठक विच प्रतिस्पर्धा हुने देखिएको छ । यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल पनि यसै क्षेत्रमा उम्मेदवार रहेका छन । प्रदेश सभा तर्फ सुवेदी सँग नेकपा एमालेका नवराज पौडेल रहेका छन । पौडेल केही समय पहिले काँग्रेस छाडेर एमालेमा प्रवेश गरेका हुन । यता क्षेत्र नं. १ प्रदेश सभा (१) मा काँग्रेसका दिपेन्द्र बहादुर थापा र नेकपा एमालेका हिरा बहादुर केसी विच कडा प्रतिस्पर्धा हुने देखिएको छ । थापा काँग्रेसका निवर्तमान सभापति हुन भने केसी एमालेका जिल्ला अध्यक्ष हुन ।
तश्विर मतदाता भेटघाटमा व्यस्त राजमो अध्यक्ष चित्रबहादुर केसी र प्रदेश सभा उम्मेदवार डिल्लीराम सुवेदी