बागलुङ- बागलुङ नगरपालिका–४ कुँडुले स्थित शालग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकहरुको आकर्षण बढेको छ । एकै ठाउँमा संग्रहित गरेर राखेको सवा लाख शालग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालग्राम शिलालाई १०० मिटर सुरुङ भित्र संरक्षण गरेर राखिएको छ ।
पछिल्लो समय तीव्र रुमिा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन् ।
गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आर्थिक वर्षको १० महिनामा एक लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नचार्य बताउनुहुन्छ । शालग्राम सङ्ग्रहालय चार वर्षदेखि सर्वसाधरणलाई खुल्ला गरिएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक सङ्ग्रहालयमा आउने गरेको उनको भनाइ छ ।
ऋषि प्रपन्नचार्यले भने– “सङ्ग्रहालयको विस्तारै प्रचार हुँदैछ, विगतको तुलनामा अहिले यहाँ पर्यटकको आगमन ठूलो संख्यामा बढेको छ, अझै बढ्दै जाने हामीहरुले आँकलन गरेका छौँ, अहिले दक्षिण भारतबाट आउनेको संख्या अझ बढी छ, प्रचारप्रसार पनि हुँदै गएको छ, यहाँ घुम्न आएका सबै सङ्ग्रहालयमा पस्दैनन्, मन्दिर अवलोकन गरेर जाने गरेका छन् ।”
त्रिशुल आकारमा सुरुङ भित्र शालग्राम सङ्ग्रहालयसहित त्रिवेणी धामदेखि दामोदर कुण्डसम्मको नक्सा, विभिन्न मठ मन्दिरका आकृतिहरु बनाइएको छ । सङ्ग्रहालयमा सासाना सालग्राम देखि ३ सय किलोसम्मको शालग्राम छन् । शंग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुख भित्र रहेको छ ।
गैडाकोटबाट घुम्न आउनु भएका तुल्सीराम सापकोटाले यसरी एकै ठाउँमा सवा लाख शालग्राम अन्य कुनै ठाउँमा अवलोकन गर्न नपाइने बताउनुभयो । पारिवारीक भ्रमणका क्रममा बागलुङ आएको सुनाउँदै सङ्ग्रहालय निकै आकर्षक रहेको उनको भनाइ छ । सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा शालग्राम सङ्ग्रहालयको बारेमा धेरै फोटो भिडियो देखेको हुँदा घुम्न आएको बताए ।
नवलपरासीबाट घुम्न आउनु भएकी मेनुका पौडेलले शालिग्रामको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासले परिवारसहित दर्शन गर्न आएको छ । ढोरपाटन, बागलुङ कालिका घुम्दै शालिग्रामको दर्शन गर्न पाएको उनको भनाइ छ । पौडेलले धेरै पहिला सामान्य खालको शालिग्राम दर्शन गरे पनि एकै ठाउँमा यति धेरै नदेखेको सुनाए ।