बागलुङ, - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती बागलुङका दुई वटा क्षेत्रमा २३ जना उम्मेदवार निर्वाचनमा होमिन योग्य भएका छन । निर्वाचन आयोगको कार्यतालिका अनुसार बुधबार उम्मेदवार विरोधमा उजुरी दिने समय थियो भने विहिबार मनोनयन पत्र र उजुरु उपर जाँच बुझ गरी निर्णय गर्ने समय रहेको थियो । उक्त समयमा कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नआएपछि सवै उम्मेदवार योग्य ठहरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुई प्रतिनिधिसभा सदस्यका बागलुङ क्षेत्र नम्बर एकमा ११ दलका ११ जनाले उम्मेदवारी दिएका छन् भने बागलुङ क्षेत्र नम्बर २ मा १२ दलका १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार मनोनयन दर्ता गराएका सबै उम्मेदवार योग्य भएपछि अब मनोनयन दर्ता फिर्तापछि मतपत्र छापिने मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए ।
क्षेत्र नं. १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मङ्गोल नेशनल अर्गनाइजेशनका गुमाकुमारी बुढा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का, नेपाल कम्युनिष्ट पार्टी एमालेका हिराबहादुर केसी, प्रगतिशल लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।
नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्णप्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा (एमाले) बाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त पार्टीबाट सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता अञ्चल शाही, श्रम संस्कृति पार्टीका हर्कबहादुर पुन, नेकपा (माओवादी) का लोकेन्द्र घिमिरेले उम्मेदवारी दिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका पदम कुँवर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, मङ्गो नेशलन अर्गनाइजेशनबाट जुनबहादुर थापामगर, जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती र नेशनल रिपब्लिक पार्टीका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार शुक्रबार उम्मेदवारी फिर्ताको समय रहेको छ भने उम्मेदवारी फिर्ता पश्चात निर्वाचन चिन्ह प्रदान पनि शुक्रबार नै गरिनेछ ।