• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार ,
  • जैमिनी

बागलुङको जैमिनीलाई बालमैत्री नगर घोषणा

  • जेठ १८, २०८३

नारायण रिजाल बागलुङ, - बागलुङको जैमिनी नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ ।  बालमैत्री स्थानीय शासन घोषण गर्न आवश्यक ५१ वटा सूचकहरु पूरा गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बालमैत्री नगर घोषणा गरेका हुन । नगरपालिकाले बालमैत्री घोषणाका निम्ती २९ वटा सूचकहरुमा सत प्रतिशत उपलब्धी, ६ वटा सूचकहरुमा ९५ प्रतिशत, ६ वटा सूचकहरुमा ८० प्रतिशत सम्म नतिजा हाँसिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको नगरप्रमु नरबहादुर पुनले जानकारी दिए । नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झन्डै तीन करोड लगानी गरिसकेको नगरप्रमुख पुनले बताए  । 
जिल्लामा जैमिनी नगरपालिका तेस्रो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । यस अगाडी गलकोट नगरपालिका र  बागलुङ नगरपालिका बालमैत्री घोषणा भै सकेका छन । नगरपालिकाले बालमैत्री पूर्वाधार निर्माण, विभिन्न अन्तरक्रिया कार्यक्रम र वडा– तहमा बालमैत्री सहजकर्ता खटाइएको थियो भने बालमैत्री विद्यालय, बालमैत्री पूर्वाधार र स्वास्थ्य तर्फका सबै सूचक पूरा गरेपश्चात नगरलाई बालमैत्री नगर घोषणा गरेको नगरउपप्रमुख हरिहर शर्माले जानकारी दिए । 
शर्माका अनुसार बालमैत्री घोषणा अघि बालमैत्री विद्यालय भवन निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ । टोल–टोलमा बालक्लब गठन गर्ने बालबालिकालाई सामाजिक कार्यक्रममा सहभागी गराउने, बालविवाह, बालश्रम अन्त्य गर्ने लगायतका अभियान सम्पन्न भइसकेको र अबको ध्यान नगर घोषणासँगै दीगोपनाका लागि राणनीतिक योजना तयारमा ध्यान गएको शर्माको भनाइ छ । 
नगरपालिकाले आगामी दिनमा निर्माण गरिने हरेक विकास निर्माणलाई बालमैत्री तरिकाले निर्माण गर्नेछ । बालमैत्री नगरपालिका निर्माणले सामाजिक विकासलाई टेवा पु¥याउने बालमैत्री संयोजक मिरा शर्माले जानकारी दिइन् ।
बाल बचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने गरी नगरपालिका बालमैत्री बनाइएको हो । बिक्रम संवत २०७९ मा नीतिगत निर्णय गरेर पालिकालाई बालमैत्री शासनयुक्त नगर बनाउने अभियान थालिएको थियो ।  
कुल ६ हजार २७८ घरधुरी रहेको नगरपालिकामा ६८ वटा सरकारी विद्यालय १ वटा संस्थागत विद्यालय, ६८ वटा बालविकास केन्द्र र ५ वटा सामुदायिक सिकाई केन्द्र रहेका छन । विद्यालय पढ्ने बालकालिका जम्म ४ हजार ४७७ रहेका छन जसमा २ हजार ३०० छात्र र २ हजार १७० छात्रा रहको नगरपालिकाले जनाएको छ । नगरपमालिमा १३६ वटा बालसमुह र ११ वटा बालसंजाल रहेका छन । वडा तथा नगरस्तरमा विभिन संरचनागत समितिहरुमा १७४ जना गरी जम्म २ हजार ५४६ जना बालबालिकाको प्रत्यक्ष सहभागीता रहेको नगरउपप्रमुख शर्माले जानकारी दिए । 
बालबालिकामा गरेको लगानी खेर जाँदैन - मुख्यमन्त्री पाण्डे 
घोषणा सभामा गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बालबालिका आजका नागरिक मात्र होइनन्, भोलिका राष्ट्रनिर्माता पनि भएको हुँदा उनिहरुलाई राज्यले गरेको लगानी खेर नजाने बताए । उनले कुनै पनि समाजको समृद्धि र सभ्यताको मापन त्यहाँका बालबालिकाले पाएको अवसर, सुरक्षा र सम्मानबाट हुने हुँदा बालबालिकाको सम्मानका निम्त समाज र समुदायकै दायित्व भएको बताए ।  जैमिनी नगरपालिकाले बालअधिकारको संरक्षण, बाल सहभागिता, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा सुरक्षित वातावरण सुनिश्चित गर्न गरेको प्रयासको परिणामस्वरूप आज बालमैत्री स्थानीय शासन घोषणा हुन सफल भएको मुख्यमन्त्री पाण्डेको भनाई थियो । 
“बालमैत्री घोषणा केवल एउटा उपाधि वा प्रमाणपत्र प्राप्त गर्ने विषय होइन, पाण्डेले भने,–‘यो बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर विकास गर्ने प्रतिबद्धता पनि हो।  अब यो उपलब्धिलाई दिगो बनाउँदै प्रत्येक बालबालिकाले विभेदरहित वातावरणमा आफ्नो क्षमता विकास गर्न सक्ने अवस्था सिर्जना गर्न आवश्यक छ । यसमा गण्डकी प्रदेश सरकार साथमा रहेको छ ।’ पाण्डेले गण्डकी प्रदेश सरकारले बालमैत्री स्थानीय शासनको अवधारणालाई थप प्रभावकारी बनाउँदै बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तहसँग सहकार्य गर्दै बताए । उनले जैमिनी नगरपालिकाले हासिल गरेको यो सफलता प्रदेशकै अन्य स्थानीय तहका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास लिएका थिए । 
कार्यक्रममा गण्डकी प्रदेस सभा सदस्य कुशुम बुढा, कृष्ण प्रसाद पाठक, डिल्लीराम सुवेदी, जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष अमर बहादुर थापा, जैमिनी नगरपालिका नगरप्रमुख इन्द्रराज पौडेल, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, रास्वपा जैमिनी नगरपालिका सभापति राजेन्द्र शर्मा, जैमिनी नगर बालसञ्जालका अध्यक्ष पुनम थापा, बलमैत्री राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौबे लगायतले बालेका थिए । 
कार्यक्रममा जैमिनी नगरपालिकालाई पूर्णखोप दिगोपना पालिका समेत घोषणा गरिएको थियो । 
कार्यक्रम जैमिनी नगरपालिकाका नगरप्रमुख नरबहादुर पुनको अध्यक्षता, उपप्रमुख हरिहर शर्माको स्वागत र शिक्षा शाखा प्रमुख मिरा शर्माको संचालनमा सम्पन्न भएको थियो । 
घोषणा सभामा जैमिनी क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक र सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो भने विद्यालयहरुले शैक्षिक प्रदर्शनी गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया