म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका– ५ मा बुधबार दिउँसो भएको बोलेरो जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
दरबाङ–रुन्म भित्रि सडक खण्डअन्तर्गत ठूलो ढाटरमा भएको दुर्घटनामा जीपमा सवार मालिका गाउँपालिका– ५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परेर जीपका चालक चन्द्र पुन, जीपमा सवार यात्रु सृजना घर्ति र भविराज फगामी घाइते भएका छन्। घाइतेहरुको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि रुन्म जाँदै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो जीप सडकबाट अनियन्त्रीत भएर करिब ४० मिटर तल खसेको हो। दुर्घटनापछि दरबाङ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा अनुसन्धानको लागि खटिएको छ।