एकल महिला सँग अन्तक्रिया तथा तिजको शुभकामना आदान प्रदान 

  • भदौ २७, २०८०

बागलुङ- बागलुङ नगरपालिका कार्यालयले हरितालिका तिजको अवसरमा एकल महिला सँग अन्तक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।  अन्तरक्रियामा नगरपालिका भित्रका एकल महिलामा रहेका चुनौती उनिहरुलाई आत्मनिर्भर कसरी बनाउने भन्ने विषयमा छलफल गरिएको थियो । 
    कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले एकल महिलाका अदृश्य समस्याहरुलाई समाधान गर्न र आर्थिक सशक्तिकरणका लागि नितिगत रुपमा सम्बोधन गरी नगरपालिकाले कार्यक्रम तयार पर्ने बताए । उनले आगामी दिनमा नगरक्षेत्रका एकल महिलालाई आत्मनिर्भर बनाउन सिपमुलक कार्यक्रम संचालन गर्ने बताए । श्रेष्ठले अन्य महिला भन्दा चाडवार्डको समयमा एकल महिलाले एक्लोपनको महशुस गर्ने हुँदा उनिहरुका समस्या सुन्ने र तिजको शुभकामना आदानप्रदान गर्ने गरी कार्यक्रमको आयोजना गरिएको बताए । उनले महिलाको नेतृत्वमा हुने हरेक सामाजिक कार्यमा नगरपालिकाले निरन्तर साथ दिने बताए । 
    कार्यक्रममा कार्यपालिका सदस्य ज्योति विष्टले महिलाहरु सामाजिक तथा राजनैतिक क्षेत्रमा अग्रसर हुनुपर्ने बताईन । सो अवसरमा बागलुङ नगरपालिका –१३ की एकल महिला माया गिरीले महिलाहरु सिप सिकेर आफै आत्मनिर्भर बन्न सक्ने बताएकी थिईन । उनले प्लाष्टिकका माला बनाउनका निम्ती आफुमा सिप रहेको हुँदा एकल महिलाका निम्ती उक्त सिप प्रदान गर्ने बताईन । 
कार्यक्रममा बागलुङ नगरपालिकाका क्षेत्रका एकल महिला, वडा अध्यक्ष कार्यपालिका सदस्य, महिला जनप्रतिनिधि कर्मचारीको सहभागिता रहेको थियो ।  अन्तरक्रिया पश्चात तिजको शुभकामना आदानप्रदान सहित दरखाने कार्यक्रम पनि सम्पन्न भएको थियो । 
एकल महिला समाज बागलुङका अध्यक्ष खड्क कुमारी खड्काको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेल र महिला विकास शाखाका प्रमुख सरस्वती रेग्मीको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया