बागलुङ- कोरोनाको तेस्रो लहर व्यापक रुपमा फैलिए सँगै जिल्लामा संक्रमितको संख्या पनि दैनिक रुपमा बढ्दै गएको छ । गत माघ २ गते बागलुङ जिल्ला भरी कोरोना संक्रमितका विरामी जम्मा ९० जना थिए । एक साता यताको तथ्याङक हेर्ने हो भने ३ सय भन्दा बढिले नाघेको छ । सोमबार सम्म आई पुग्दा जिल्लामा कोरोनाका सक्रिय बिरामीको संख्या ४१२ पुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
पुस अन्तिम साता कोरोना संक्रमण जोखिम विश्लेषणको आधारमा न्युन जोखिम क्षेत्रको सुचिमा सुचिकृत बागलुङ एक हप्ताको अवधिमा उच्च जोखिमतर्फ उन्मुख भएको छ । स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकलपर्सन देवप्रकाश घिमिरेका अनुसार जिल्लाका ८५ वटा वडा मध्ये १३ वटा उच्च जोखिम, ४३ वटा मध्यम जोखिम छन । जिल्लाको बागलुङ नगरपालिकाका अधिकाशं वडा उच्च जोखिमको सुचिमा रहेका छन । जिल्लामा हाल २९ वडा भने न्युन जोखिमको सुचिमा रहेका छन । स्वास्थ्य कार्यालयले शुन्य संक्रमित रहेको वडालाई न्युन जोखिम राखेको छ भने सात जनासम्म संक्रमित रहेको वडालाई मध्यम जोखिम र सात जना भन्दा बढी संक्रमित रहेको वडालाई उच्च जोखिमको सुचिमा राखेको घिमिरेले जानकारी दिए ।
बागलुङ नगरपालिकाको वडा नम्बर १, २, ३, ४,५,७, ८ र १३, बरेङ गाउँपालिकाको २, ३, गलकोट नगरपालिकाको ३ ताराखोला गाउँपालिकाको ३ तथा बडिगाड गाउँपालिकाको वडा नम्बर–२ उच्च जोखिमको सुचीमा छन् ।
बागलुङ नगरपालिकामा सबै भन्दा धेरै २१२ जना संक्रमित छन् । जसमा वडा नं. २ को बजार क्षेत्रमा ६० जना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
फोकलपर्सन घिमिरेका अनुसार गलकोट नगरपालिकामा ४४, बरेङ गाउँपालिकामा ३२, जैमिनी नगरपालिकामा १०, काठेखोला गाउँपालिकामा १७, तमानखोला गाउँपालिकामा ११, ताराखोला गाउँपालिकामा ३०, बडिगाड गाउँपालिकामा १७, ढोरपाटन नगरपालिकामा र जिल्ला बाहिरका ३५ जना संक्रमित छन् । निसीखोला गाउँपालिकामा संक्रमितको संख्या शुन्य रहेको कार्यालयले जनाएको छ ।
संक्रमित मध्ये ६ जना धौलागिरि अस्पतालमा उपचाररत छन । अन्य संक्रमित घरमै रहेको घिमिरेले बताए । जिल्लामा हाल सम्म ८ हजार ४ सय ८० जना कोरोना संक्रमित भने ७२ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।