सार्वजिक सुनुवाईमा किसानको गुनासो बाँदर आतंकले हैरानी भयो

  • कार्तिक २९, २०८२

बागलुङ- जैमिनी नगरपालिकाले समयमा मल र बिउ बितरण गर्न नसकेको, कृषिबालीमा क्षति पुग्दा क्षतिपुर्ति नपाएको र स्वास्थ्य बीमाबाट औषधी पाउन कठिन भएको गुनासो गरेका छन् । 
चालु आर्थिक बर्ष २०८२/०८३ को पहिलो चौमासिकको लागि जैमिनी नगरपालिका वडा नंं ६ अर्जेवामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले अत्यावस्यक सेवामा नगरपालिकाले नागरिकको हितमा काम गर्नुपर्ने सुझाव दिएका छन् । शुक्रवार आयोजित कार्यक्रममा उनीहरुले कृषि क्षेत्रलाई बचाउन नसके बसाइ सराइको तीब्रता अझै बढ्ने पनि गुनासो गरे ।
बाँदर आतंकले किसानलाई नै पिरेको उनीहरुको गुनासो छ । झाडी र बुट्यान हटाउने काममा नगरपालिकाले साथ नदिएको, मल र बीउ समयमा नआएको र प्राकृतिक रुपमापनि खडेरी, हावाहुरी र असिना जस्ता प्रकोपले सताएको उनीहरुको गुनासो छ । त्यसकालागि किसानको उत्पादनको बीमा हुनुपर्ने समेत अधिकांसको भनाइ छ ।  किसानले समयमा मल र बीउ पाउन नसकेकोले उत्पादनमा असर परेको उनीहरुले बताए ।
जैमिनी नगरपालिका १ का तिलक थापाले पटक पटक नगरपालिकामा आबाज उठाएपछि ढीला गरी मल आएको बताए । त्यस्तै बीमा गरेकाहरुले पनि समयमा औषधी नपाएकोले नगरपालिकाले अत्यावस्यक सेवामा चासो राख्ने र सेवा प्रवाहमा असर परेको देखिएमा हस्तक्षेप गर्नुपर्ने सुझाव दिए । उनले कृषि प्राविधिकहरु किसानको घरदैलोमा नगएको समेत टिप्पणी गरे । नगरपालिकाले दिएको सवारी साधन घर र सदरमुकाम जान मात्र नभइ फिल्डमा जान पनि भएको उनले सुझाव दिए । 
कार्यक्रममा जैमिनी ६ का दलबहादुर थापाले बाँदर आतंकले खेतीपातीमा असर परेको गुनासो गरे भने उनले प्राकृतिक श्रोत साधन उत्खनन्मा नगरपालिकाले अनुगमन गर्न नसकेको बताए । अर्का सहभागि चित्रबहादुर थापाले बेरुजु बढ्दै गएको भन्दै नगरपालिका समयमा सचेत रहन आग्रह गरे । अर्का स्थानीय लालमाया पुनले बिपतमा नगरले साथ नदिएको, खानेपानीको समस्या परेका बस्तीमा नगरपालिकाले तत्काल सम्बोधन गर्नुपर्ने बताइन् । 
नगरप्रमुख नरबहादुर पुनले कानून संशोधन अभावमा बिकासका काम रोकिएको भन्दै बाँदर नियन्त्रण र रुक बुट्यान काट्ने काम कानूनी समस्याले असर परेको बताए । त्यस्तै औषधी र कृषि मल बारे आएको समस्याको समाधानमा तत्काल पहल गर्ने र आगामी दिनमा अप्ठ्यारो पर्न नदिने बताए । 
उपप्रमुख हरिहर शर्माले कृषि सडक कालोपत्रे गरेर किसानका उत्पादनलाई बजार सम्म लैजने योजना सहित एशियाली बिकास बैंकको सहयोगमा कालोपत्रे गर्ने लक्ष्यमा लागेको बताए । साथै उनले बजेट व्यवस्थापन गरेर अन्य धेरै बिकासका कामलाई अगाडि बढाउने सोच बारे जानकारी गराए । पर्यटन प्रवद्र्धन र कालीगण्डकी करिडोरको उपयोग गर्ने अभियानमा स्थानीयलाई समेत जागृत गराउने उनले बताए । 
प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बेरुजु कम गर्न पहल भएको, सैद्दान्तिक बेरुजु बाहेक अन्य न्युनिकरण भएको, सार्वजनिक खरिद ऐनका कारण आएका समस्या समाधान गर्ने र ठेकेदारलाई काममा फर्काएर अलपत्र प्रशासकीय भवन पुरा गर्ने जस्ता प्रतिवद्दता जनाए । 
नेपाल पत्रकार महासंघको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइमा जैमिनी नगरपालिका सुशासन समितिका संयोजक प्रेम सापकोटाको अध्यक्षता, नेपाल पत्रकार महासंघका सल्लाहकार तारानाथ आचार्यको संचालन र वडा अध्यक्ष कृष्णबहादुर थापाको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा महासंघका सचिव नारायण रिजालले आचारसंहिता, सहसचिव डब्बर बुढाले नागरिक सन्तुष्टी प्रतिवेदन पेश गरेका थिए भने पत्रकार प्रकाश बरालले टिप्पणी गरेका थिए । कार्यक्रममा महासंघका अध्यक्ष राम थापा अविरल, नगरपालिकाका बिषयगत शाखाका प्रमुखहरु समेतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया