• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • बागलुङ ,
  • कला/मनोरञ्जन

बागलुङका दुई युवा जसले राखे गिनिज बुकमा रेकर्ड

  • असोज ५, २०८१

बागलुङ- जिल्लाका युवा फोटोग्राफर तथा भिडियोग्राफर सोनाम केसी र सौगात कार्कीले अग्लो उचाईमा नृत्यको भिडियोग्राफर गरेपछि गिनिज बुकमा रेकर्डको प्रामाणपत्र प्राप्त गरेका छन् ।
गत जेठ ६ गते नेपाली नृत्य निर्देशकद्वय ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुमन तामाङले सोलुबुम्बुको कालापत्थरमा जोडी नृत्य ‘उच्चतम उचाइमा कोरियोग्राफी गरिएको नृत्य’ विधामा आधिकारिक गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेका थिए । उनीहरुले ५ हजार ४३८ मिटरको उचाइमा नृत्य गरेका थिए ।
उक्त विश्व किर्तिमानको भिडियोग्राफी गरेर बागलुङका दुई युवा फोटो तथा भिडियोग्राफर केसी र कार्कीले समेत उक्त रेकर्डमा नाम लेखाउन सफल भएका हुन् । उनीहरु दुवै जनाले विश्व किर्तिमानको प्रमाणपत्र प्राप्त गरेका छन् । केसी काठेखोला गाउँपालिका–२ घरभई हाल बागलुङ नगरपालिका–२ मा बसोबास गर्दै आएका छन्भने कार्की बागलुङ नगरपालिका–३ गुठी निवासी हुन् ।
रेकर्ड बनाउने क्रममा दि गोल्ड स्टुडियो बागलुङका सञ्चालक समेत रहेका केसी र काठमाडौंका उमेश सापकोटाले भिडियोग्राफी र फोटोग्राफीमा दि गोल्ड स्टुडियोका सौगात कार्कीले साथ दिएका थिए । भिडियोग्राफर केसीले मेहनतले ठूलो सफलताको साझेदार बन्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा झनै राम्रो गर्ने उर्जा मिलेको बताए । ‘मेरो मेहनतको सबैभन्दा ठूलो सफलताको रुपमा लिएको छु, आगामी दिनमा झनै राम्रो गर्ने उर्जा मिलेको छ’ केसीले भने,‘जोखिमपूर्ण स्थानमा भिडियो छांयाङ्कनको अवसरसँगै यो सफलताले आनन्द महसुस भएको छ ।’
सुन्दर नगरी बागलुङ बजारमा विगत ४ वर्षदेखि संचालित दि गोल्ड स्टुडियोले म्युजिक भिडियोका साथै डकुमेन्ट्री र बिबाह ब्रतबन्ध विभिन्न कार्यक्रमहरुको भिडियो छांयाङ्कन तथा फोटो खिच्दै आएको छ ।
विश्व रेकर्ड कायम गर्दा नृत्यकार सुरेन्द्र र सुसनले दीपक बज्राचार्यको गीत ‘मन मगन’ मा २ मिनेट ३० सेकेन्डसम्म नृत्य गरे । सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा सुरेन्द्र र सुसनले कार्यक्रम गरेका थिए । गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा उनीहरूले नृत्य गरेका थिए । ८ हजार मिटरका पाँच हिमाल दुई पटक आरोहण गरेर गिनिज वल्र्ड कीर्तिमानी बनेका सानु शेर्पा विशेष अतिथिका रूपमा नृत्यको साक्षी बनेका थिए । ‘हाम्रा हिमालहरू बचाउनुहोस्ः हिमालको बहुविविधता महत्वपूर्ण छ’ भन्ने नारासहित सुरेन्द्र र सुसनले यो कार्यक्रम गरेका हुन् ।
कार्यक्रमको छायांकनका प्रमाण र अन्य प्रमाणहरु गिनिजको लण्डन मुख्यालयमा पठाइएको थियो । मुख्यालयले सवै प्रमाणको अध्ययन गरेपछि विश्व रेकर्ड कायम गरेका सुरेन्द र सुसन सहित भिडियोग्राफर, फोटोग्राफर र सहयोगीहरुलाई भदौं अन्तिम साता प्रमाणपत्र उपलब्ध गराएको हो ।

प्रतिक्रिया