बागलुङ- नयाँ वर्षको दिन गण्डकी क्षेत्रकै ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । विषेश गरी चैत्राष्टमीको नवदुर्गा र दशैको नवदुर्गामा भक्तजनको भिड बढ्ने भएता पनि नयाँ वर्ष र शनिबारको दिन पनि दर्शनार्थी उत्तिकै आउने गर्दछन । अन्य दिन भन्दा नयाँ वर्षको दिन दर्शनार्थीको अत्याधिक चाप बढेपछि मन्दिर व्यवस्थापन समिति दुई लाइनबाट मन्दिरमा पूजा गर्ने व्यवस्था मिलाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
भक्तजनलाई व्यवस्थित गर्न प्रहरीसहित स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी खटिएका छन । आन्तरिकसँगै छिमेकी देश भारतदेखि पनि भाकल पूरा गर्नका लागि भक्तजन मन्दिर आउने क्रम बढेको अध्यक्ष खड्काले बताए ।
नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, मन्दिर जाने, मीठो खाने र साथीसङ्गीसँग भेटघाट गरी एकआपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुवात भए वर्षभर सफलता मिल्ने जनविश्वास छ । मनोकांक्षा पुरा हुने विश्वासमा पूजाआजाका लागि देशभरबाट भक्तजन कालिका भगवती मन्दिरमा आउने गर्छन् । मुत्तिनाथ जाने गेटकै रुपमा बागलुङ पर्ने हुँदा पछिल्लो समयमा मुक्तिनाथ जाने भारतिय पर्यटक कालिका भगवती दर्शनका लागि बढ्दै गएको अध्यक्ष खड्काले जानकारी दिए ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर मेला र पूजा सुरु भएको पाइन्छ । अहिलेसम्म बागलुङ कालिकाबारे तीनवटा मात्र पुराना लेखोटहरु फेला परेका छन् ।