पुर्व प्रधानध्यापक शर्माको स्मृतिमा विद्यालयमा शोक सभा

  • कार्तिक २४, २०७८

बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको त्रिभुवन माध्यामिक विद्यालयले पुर्व प्रधानध्यापक स्व. डिल्ली  प्रसाद शर्माको स्मृतिमा शोक सभा सम्पन्न गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका निधन भएकोे पाँचौ दिनको पुण्य तिथिको अवसरमा मंगलबार विद्यालयमा शोक सभा सम्पन्न गरिएको हो । 
शोक सभामा बोल्ने अधिकाशं बक्ताहरुले शैक्षिक, सामाजिक, धार्मिक धरोहर स्वनामधन्य आदरणीय व्यक्तित्व डिल्लीप्रसाद शर्माको दुःखद निधनको सिंगो बलेवा क्षेत्र नै शोकमा डुवेको बताएका थिए । कार्यक्रममा बानपा १३ का कार्यबहाक अध्यक्ष एकनाथ रेग्मी, विद्यालय व्यवस्थापन समितिका सदस्य रेशम बहादुर खत्री विद्यालयका विद्यालयका निमित्त प्रधानध्यापक तिलक आचार्य लगायतले स्वर्गिय शर्मा प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गरेका थिए । 
१९९६ साल  बैशाख १५ गते जन्मिएका शर्माले अग्रेजी, संस्कृत र  नेपाली गरी तीन  विषयमा स्नातकोत्तर गरेका थिए । स्व. शर्माले त्रिभुवन मावि पैयुँपाटामा २०१५ देखि २०२९ सालसम्म प्रधानाध्यापकको रूपमा रही विद्यालयको चौतर्फी हितमा अहम् भूमिका निर्वाह गरेका थिए । तत्कालिन त्रिभुवन मिडिल स्कुललाई स्तरोन्नती गरी शर्माकै पालामा माध्यमिक तह स्वीकृत भई कक्षा संचालन गरिएको थियो । शर्मा माध्यामिक तहको विद्यालय निरिक्षक हुँदै जिल्ला शिक्षा अधिकारी समेत भएका थिए ।  स्व.शर्माले पञ्चायती व्यवस्थाका विरुद्धमा लागेकै कारण सरकारी सेवाबाट हात धुनुपरेको थियो । जिल्लाको समग्र शैक्षिक र समाजिक क्षेत्रमा अग्रणी भुमिका खेलेका शर्माको निधनले यस क्षेत्रमा ठुलो असर परेको छ । 
शर्माको उपचारका क्रममा यही  कार्तिक १९ गतेका दिन  काठमाण्डौमा निधन भएको थियो । शोक सभा कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ शर्माको अध्यक्षता र शिक्षक कृष्ण प्रसाद पौडेलको संचालमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया