बागलुङ- ज्येष्ठ नागरिकका असहाय बालबालिका, अपाङ्गता भएका तथा अशक्त व्यक्तिहरूका लागि दिवा सेवा संचालनका निम्ती बागलुङमा श्रीमद् भागवत महापुराण एवं पितृउद्धार सप्ताहको आयोजना गरिने भएको छ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कमा महायज्ञ सञ्चालन हुन लागेको हो।
धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोड्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ महायज्ञको आयोजना गर्न लागिएको हो । कार्यक्रममार्फत संकलित रकम जेष्ठ नागरिक र असहायका लागि दिवा सेवा संचालन गरिने आयोजक सामुदायिक सेवा केन्द्रका अध्यक्ष लिला देवी केसी खड्का केसीले जानकारी दिईन ।
मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै खड्काले महायज्ञमा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई आग्रह गरिने । उनले सप्ताह व्यापी आयोजना गरिएको महायज्ञ अवधिभर धार्मिक अनुष्ठानसँगै विभिन्न सामाजिक र चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिईन ।
महायज्ञमा प्रमुख वाचकका रूपमा पण्डित तिर्थराज उपाध्याय कृष्णबाट दैनिक रूपमा श्रीमद् भागवत महापुराणको पाठ, कथा प्रवचन तथा आध्यात्मिक सन्देश प्रवाह गरिने छ । आयोजकले यस कार्यक्रमले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।
आयोजकका अनुसार चैत २० गते पूर्वाङ्ग कार्यक्रम गरिनेछ भने २१ गते बिहान ११ बजे भजन–कीर्तनसहित शोभायात्रा सहित औपचारिक उद्घाटन गरिनेछ । सोही दिनदेखि कथा प्रवचन र पाठ पारायण सुरु हुनेछ। चैत २२ र २३ गते नियमित पूजा–पाठ, कथा प्रवचन, भजन–कीर्तन तथा धुपबत्ती संकलन कार्यक्रम सञ्चालन गरिनेछ।
चैत २४ गते विशेष रूपमा कालीगण्डकी नदी किनारमा दिउँसो २ बजे पितृ उद्धारका लागि दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिईन । ,चैत्र २५ र २६ गते पनि नियमित रूपमा पूजा–पाठ, कथा प्रवचन र भजन–कीर्तन जारी रहनेछ ।
कार्यक्रमको अन्तिम दिन चैत २७ गते दीप प्रज्वलन, भजन–कीर्तन, दाताहरूको सम्मान तथा समापन समारोह आयोजना गरिनेछ । महायज्ञको प्रारम्भदेखि अन्त्यसम्म प्रत्येक दिन दाताहरूलाई सम्मान गरिने, मध्यान्हमा दिव्य आरती गरिने तथा आगन्तुक भक्तजनहरूको विशेष सहभागिता रहनेछ ।
महायज्ञ अवधिभर विज्ञहरूमार्फत दैनिक मनोपरामर्श कक्षा सञ्चालन गरिनेछ भने स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध गराइने छ । ओशो अमृतम ध्यान केन्द्रको सहकार्यमा “खुसीको जीवन” विषयक ध्यान तथा जीवनशैली सम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिने बताइएको छ, जसले सहभागीहरूलाई मानसिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
महायज्ञमा करिब १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको केन्द्रका संस्थापक अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिए । उनले कार्यक्रम सञ्चालनका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । संकलित रकम सामाजिक सेवामूलक कार्यहरूमा पारदर्शी रूपमा खर्च गरिने प्रतिबद्धता समेत जनाइएको छ ।
कार्यक्रममा उपाध्यक्ष सुमन बाँस्कोटाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन भने महासचिव सावित्री केसीले कार्यक्रम सञ्चालन गरेकी थिईन । आयोजकले धार्मिक आस्था, सामाजिक सेवा र सामुदायिक एकताको सन्देश बोकेको यस सप्ताहमा सबैको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ ।