जेसिस सप्ताहको पहिलो दिन दुई युवालाई सम्मान

  • कार्तिक ६, २०७८

बागलुङ जेसिजले शनिबार देखी सप्ताहव्यापी कार्यक्रम सहित जेसिज सप्ताह सुरु गरेको छ । सप्ताहव्यापी विभिन्न कार्यक्रम सम्पन्न गर्ने उद्देश्य सहित पहिलो दिन कार्यक्रमको सुरुवात गर्नुका साथै युवा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । सप्ताहको उदघाट्न गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले नेतृत्व विकासमा जेसिजको सिद्धान्तलाई आत्मसाथ गर्न जरुर रहेको बताए । उनले युवाहरुको शक्तीलाई कानूनी शासनमा ढाल्ने र अनुशासनमा राख्नका लागि जेसीजको भूमिका महत्वपूर्ण भएको बताए । पौडेलले हरेक युवामा भएको क्षमतालाई सही ढंगमा परिचालन गर्न जेसिज जस्तो सामाजिक संस्था अहिलेको परिवेशमा आवश्यक रहेको बताए । 
कार्यक्रममा जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष भोजराज चापागाइले युवाहरु सक्षम छन्, उनीहरुले नेतृत्व लिएर सकुशल हस्तान्तरण गर्छन् भन्ने सन्देश जेसीजमा देख्न पाइने बताए । राजनीतिमा छलछाम बढेको, नेतृत्व हस्तान्तरणमा आनाकानी गर्ने चलनलाई जेसीज राम्रो पाठ हुने समेत उनको भनाइ थियो । 
कार्यक्रममा पर्वत जेसीजका अध्यक्ष सुमन श्रेष्ठ, मालिका समाज बागलुङका अध्यक्ष जीवन शर्मा, जेसिज बागलुङका उपाध्यक्ष अमरबहादुर थापा, ताराप्रसाद शर्मा, सुदिप सागर कंडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल खेलाडी कमल थापा र सामाजिक अभियान्ता सुमिरा लामालाई सम्मान पनि गरेको थियो । थापाले माल्दिपमा भएको तेह्रौ साफ च्याम्पियन सिपमा खेलेर उपबिजेता बनेका थिए । भारतले नेपाललाई फाइनलमा पराजित गरेको थियो । बिद्यालयतह देखिनै खेलमा रुची भएका थापाले १३ र १६ बर्षको उमेरमा अन्तरािष्ट्रय खेल खेलिसकेका छन् । हाल उनी हिमालयन शेर्पा क्लबमा अनुबन्धित भएर ए डिभिजन लिगपनि खेलिसकेका छन् ।
सम्मानित भएकी लामा मानव सेवा आश्रमकी संचालक हुन् । हेटौडादेखि आएर यहाँको आश्रममा बसेर सेवा गरेकी छिन् । उनले सडक मानवलाई आश्रममा लगेर सेवा गर्ने अभियानमा निरन्तर खटिएकोले सम्मान गरेको अध्यक्ष रेग्मीले बताए । चार बर्षदेखि आश्रममा बसेर उनले सेवा गर्दा घर समेत नगएको बताइन् । सेवामा लागेकोले उनले व्यक्तिगत काममा समय समेत खर्चेकी छैनन् । कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष आनन्दप्रसाद रेग्मीको अध्यक्षता, महासचिव प्रकाश आचार्यको संचालन, पूर्व अध्यक्ष सुरेन्द्र शाक्य र उपाध्यक्ष साधना पन्तको स्वागतमा सम्पन्न भएको थियो । जेसिज सप्ताह अन्तरगत शनिबार नै नेपाल पत्रकार महासंघ र जेसिज विच मैत्रीपुर्ण फुटसल सम्पन्न भएको थियो । सप्ताहको दोस्रो दिन आइतबार स्व सत्यदेवी स्मृति ‘स्लो बाइक रेस’, यही कात्तिक ८ गते बैंकर्स करियर तालिम, ९ गते साइकल यात्रा, १० गते प्रभावकारी सार्वजनिक भाषण कला तालिम र ११ गते माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगिता राखिएको छ । 
त्यसैगरी १२ गते स्व प्रगति स्मृति वक्तृत्वकला प्रतियोगितासहित, पुरस्कार वितरण र समापन समारोह हुने सप्ताहका मूल संयोजक अमरबहादुर थापाले जानकारी दिए । जेसिजले वर्षेनी सप्ताहको आयोजना गर्ने गर्दछ ।
 

प्रतिक्रिया