बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, उनले आफ्नो जन्मदिन अरुले भन्दा अलि फरक शैलीबाट मनाउँछन । न उनले जन्मदिनको अवसरमा केक काट्छन न साथीभाईसँग खाजा खाने रमाईलो गर्ने गर्छन । उनि प्रत्येक वर्ष आफ्नो जन्मदिनमा गरिब तथा विपन्न परिवारका विद्यार्थी माझ पुग्छन साना साना विद्यार्थी सँगै रमाउँछन र जन्मदिनको खर्च कटाएर उनिहरुलाई आवश्यक शैक्षिक सामाग्री सहयोग गर्दछन । उनि यो कार्य विगत १० वर्ष देखी नै गर्दै आएका छन । शर्माले जैमिनी र आसपासका १ दर्जन बढि विद्यालयमा पुगेर गरिब तथा विपन्न परिवारका विद्यार्थीका लागि आवश्यक शैक्षिक सामाग्री वितरण गर्दै आएको बताउँछन ।
उनले आफुले जन्मदिनको अवसरमा केही सामाजिक कार्य गर्ने उद्देश्यले विद्यार्थी राजनितिकाल देखी नै गरिब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आएका छन । ‘पछिल्लो समय जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढेको छ, यस्ता खर्चहरुलाई रोकेर सामाजिक र मानवीय क्षेत्रमा खर्च गरौँ भन्ने मेरो सोच अनुसार नै म हरेक वर्ष विद्यार्थी माझ पुग्ने गर्दछु । शर्माले भने,–‘विद्यार्थीको शैक्षिक उन्नयनका लागि मेरो केही सहयोगले उनिहरुको हौसला बढ्छ, हरेक जन्मदिनमा म कुनै न कुनै विद्यालयमा पुगेर विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्छु ।’ शर्माले हाल सम्म झण्डै २ हजार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको बताए ।
आईतबार पनि शर्माले आफ्नो जन्मदिनको अवसरमा जैमिनी नगरपालिका वडा नं. २ मा रहेको सहिद स्मारक प्राविमा अध्यनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेका छन । उनले यस विद्यालयमा अध्यनरत १९ जना विद्यार्थीका लागि झण्डै १२ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरेका हुन ।
पछिल्लो समय जन्मदिन मनाउने नाममा फजुल खर्च गर्ने प्रचलन बढि रहेको सन्दर्भमा उपप्रमुख शर्माले गरिब तथा विपन्न बालबालिकालाई सहयोग गर्नु उदाहरणीय कार्य भएको जैमिनी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष प्रेम प्रसाद सापकोटा बताउँछन । आफ्ना छोराछोरीलाई कापी, कलम किन्न समेत गाह्रो पर्ने अभिभावकलाई यस्तो कार्यले केही राहत दिने सापकोटा बताउँछन । शर्माले विद्यार्थीका लागि कापि कलम, पेनसिल लगायतका शैक्षिक समाग्री वितरण गर्दै आएका छन ।