माओवादी छाडेका इन्द्र केसी एमालेमा प्रवेश

  • चैत २४, २०७८

बागलुङ-  केही दिन पहिले नेकपा माओवादी केन्द्र छाडेका इन्द्र केसी (पारस) नेकपा एमालेमा प्रवेश गरेका छन । माओबादी केन्द्रको बागलुङ नगरपालिका अध्यक्ष पद छाडेका केसीलाई बागलुङमा एक कार्यक्रमका बिच बुधबार नेकपा एमालेका उप–महासचिव पृथ्वी सुब्बा गुरुङले एमालेमा स्वागत गरेका हुन । 

केसी सँगै माओबादी काठेखोला गाउँपालिका कमिटिका उपाध्यक्ष विष्णु खड्का, बानपा ७ का उपाध्यक्ष बाबुराम गैरे, बानपा–३ का सचिव सन्तोष केसी लगाएत एमालेमा समाहित भएका हुन ।  नवप्रवेशीहरुलाई एमाले उपमहासचिव गुरुङ सहितका नेताहरुलाई स्वागत गरेका थिए । 

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका इन्द्र केसीले राष्ट्रियताका सवालमा माओवादी केन्द्रले जनताप्रति गद्दारी गरेका कारण आफु लगायत नेता कार्यकर्ताले माओवादी केन्द्र छोडेको बताए । उनले  हिजोदेखि कांग्रेसका विरुद्ध जनता उचालेर त्यही कांग्रेससंग अपवित्र गठबन्धन गरी निर्वाचनमा जाने कुरा आफुहरुलाई मान्य नभएको भन्दै यही कारण माओवादीका धेरै नेता कार्यकर्ताहरु नेपालको कम्युनिष्ट पार्टीको नेता पार्टी एमालेमा समाहित भएको बताए ।  केसीले केही दिन पहिले एमालेमा प्रवेश गर्ने योजना सहित माओबादी छाडेको घोषणा गरेका थिए । 

कार्यक्रममा बोल्दै एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले  स्थानीय तह निर्वाचन राष्ट्रवादी र राष्ट्रघाती दुई विचारहरुको बीचमा हुन लागेको बताए । उनले  नेपाली काँग्रेसको बैशाखी टेकेर समाजवादको वैतर्णी तर्ने सपना देखेको माओवादीको कुनै भविश्य छैन, राष्ट्रवादको पहरेदार एमाले हो, गठबन्धनका नाममा सत्ता र राष्ट्रियतालाई धराप पार्नेहरुलाई आगामी निर्वाचनमा जनताले हैसियत देखाइदिने उनको भनाइ थियो । नेकपा एमालेले ल्याएका नीति, कार्यक्रम र विचारले नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय भएको दावी गर्दै उप–महासचिव गुरुङले एमालेको लोकप्रियतामा टेकेर माओवादी र माधव नेपाल जस्ता राष्ट्रघाती नेताले नेपाली जनताको सपना माथी तुषारापात गरिरहेको बताए ।  उनले भोका, नाङ्गा र खाली खुट्टा हिडेर परिर्वतनको आन्दोलन गरेका कार्यकर्ताको सपनाको जगमा प्रचण्ड जस्ता नेताहरु अरबपती भएको आरोप लगाए । कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य लिला बहादुर थापा मगरले मुलुक अब दुई ध्रुवमा बाडिएको भन्दै क्रान्तिकारी ध्रुवको नेतृत्व नेकपा एमाले र दलाल पूँजिपति वर्गको नेतृत्व नेपाली कांग्रेस सहितको गठबन्धनले गर्ने बताए । 
कार्यक्रम एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षता उपसचिव गणेश थापाको स्वागत र सचिव विष्णु भुसालको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया