बागलुङ, - बागलुङ जिल्लाकै दोस्रो पुरानो सामुदायिक विद्यालय त्रिभुवन माध्यामिक विद्यालयको हीरक जयन्तीको अवसरमा राष्ट्रपती रामचन्द्र पौडेल बागलुङ आउने भएका छन । बागलुङ नगरपालिका –१३ पैयुँपाटामा रहेको विद्यालयको माघ १ गते हिरक जयन्ती तथा विद्यार्थी पुर्नमिलन कार्यक्रमको मुख्य समारोहका लागि पौडेल बागलुङ आउने भएका हुन ।
शनिबार बागलुङमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक विद्यालयले राष्ट्रपती पौडेल बागलुङ आउने कार्यक्रम तय भएको बताएको छ । २००७ सालमा स्थापना भएको विद्यालयले विभिन्न कार्यक्रम सहित आफ्नो हिरक उत्सव मनाउन लागेको हो । पौडेल आउने निश्चित भए पछि विद्यालयले आवश्यक तयारी सकिसकेको छ भने हिरक स्तम्भ समेत निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीले जानकारी दिए । “राष्ट्रपती पौडेलको त्रिभुवन माविसंगको फरक सम्बन्ध छ, उहाँ २०४६ सालको राजनितिक आन्दोलनका क्रममा बागलुङबाट पैयुँपाटा हुँदै पर्वतको फलेवास पुग्नुभएको थियो अध्यक्ष केसीले भने,–‘उहाँ यही विद्यालयमा बसेर गएको हुँदा उहाँको यस विद्यालयसँग फरक सम्बन्ध छ । पछि सभामुख हुँदा पनि उहाँ पुन आउनुभएको थियो । यस पटक यो विद्यालयको ७५ वर्ष पुगेको अवसरमा उहाँलाई निमन्त्रणा गरिएको छ आउने निश्चित भएको छ ।” केसीले जिल्लाकै फरक इतिहास बोकेको विद्यालय भएका कारण राष्ट्रपतीलाई नै ल्याउने तयारी भएको बताए ।
हिरक जयन्तीको अवसरमा विद्यालयले विद्यार्थी पुर्नमिलन कार्यक्रम पनि आयोजना गरेको छ । यस विद्यालयमा अध्ययन गरेर देश तथा विदेशमा रहेको विभिन्न विद्यार्थीहरुको जमघट हुने छ । विशेष गरी विद्यालयबाट शिक्षित र दिक्षित विद्यार्थीको पुर्नमिलन गराउनु, संस्थापकहरुको पहिचाहन गरी नयाँ संस्थापक थपेर हिरक जयन्ती संस्थापकको रुपमा थप गर्दै जाने लक्ष्य सहित कार्यक्रमको आयोजना गरिएको छ । आवासिय विद्यालय संचालन गरी गुणस्तरीय प्रविधिमैत्री नैतिक शिक्षा प्रदान गरी स्वरोजगारमुखी आत्मनिर्भर जनशक्ति उत्पादन गर्नुका साथै पढदै कमाउँदै कार्यक्रमको आधारमा विद्यालयको शैक्षिक गतिविधिलाई अगाडी बढाउने उद्देश्यले हिरक जयन्ती कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केसीले जानकारी दिए । यसका लागि विद्यालयले पुर्व विद्यार्थी तथा अभिभावकलाई आयोजक, हिरक जयन्ती संस्थापक र संरक्षक बन्न आग्रह गरेको छ ।
कार्यक्रमबाट झण्डै ६० लाख रुपैयाँ संकलन गर्ने योजना रहेको हिरक जयन्ती मुल आयोजक समितिका आर्थिक संयोजक रेशमबहादुर खत्रीले जानकारी दिए । खत्रीले यस विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरु देश तथा विदेशमा रहेर विभिन्न पेशा तथा व्यवसायमा संलग्न भएका कारण यसै कार्यक्रमबाट विद्यालयको संस्थागत विकासका निम्ती आर्थिक संकलन गरेर विद्यालयलाई आवसिय विद्यालयको रुपमा विकास गर्ने योजना रहेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले जिल्लाकै ऐतिहासिक महत्व बोकेको विद्यालयले यस पटक थप इतिहास रच्ने बताए । उनले बदलिँदो युग सँगै शैक्षिक गतिविधिलाई पनि बदल्नुपर्ने आवश्यक रहेको हुँदा अब विद्यालयमा प्राविधिक धारका कक्षाहरु संचालन गर्ने योजना रहेको बताए । पौडेलले शैक्षिक उत्कृष्टता अनुशासन र संस्कारमा आधारित प्राविधिक शिक्षालाई केन्द्रमा राखि विद्यालयले समुदायसँग सहकार्य गर्दै शैक्षिक वातारण निर्माण गर्ने खोजेको जानकारी गराए ।
विद्यालयमा हाल झण्डै तिन सय जना विद्यार्थी अध्ययनरत रहेका छन भने प्राविधिक धार तर्फ कृषि जेटिय पनि संचालन भएको छ । विद्यालयमा कम्प्युटर शिक्षाका साथै पुरानो संस्कृति जगेर्ना गर्ने उद्देश्यले संग्राहलयको स्थापना गरिएको छ । विद्यार्थीहरुलाई फरक संस्कृतसँग जोड्नुका साथै हाम्रो संस्कृतीको संरक्षण गरौँ भन्दै पञ्चेबाचा भजन लगायतका अन्य अतिरिक्त क्रियाकलमपमा पनि जोड्दै आएको प्रध्यानाध्यापक कृष्ण पौडेलले जानकारी दिए ।
पौष २६ गते बाट सुरु हुने हीरक जयन्ती तथा विद्यार्थी पुर्नमिलन कार्यक्रममा आन्तरिक खेलकुद कार्यक्रम, साहित्कि कार्यक्रम, सांस्कृतिक कार्यक्रम,कृषि प्रर्दशनी, विद्यार्थी कल्याण कोष लगायतका विभिन्न संस्थाबाट छात्रबृति प्रदान लगायतका कार्यक्रमहरु संचालन गरिने छ । त्यसैगरी बृहत स्वास्थ्य शिविर विद्यालयको इतिहास बोकेको स्मारिका समेत प्रकाशन गरिने प्रध्यानाध्यपा पौडेलले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले कार्यक्रम पुर्ण सफलताको कामना गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीको अध्यक्षता प्रध्यानाध्यापक कृष्ण पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।