बागलुङ, - जिल्लाको गलकोट नगरपालिकाले सामाजिक विकासको क्षेत्रलाई प्राथमिकता दिने नीति अगाडि सारेको छ । विगतमा भौतिक पूर्वाधारको क्षेत्रमा केन्द्रित हुँदै आएकोमा यस पटकको नीति कार्यक्रमले स्वास्थ्य शिक्षा लगायत सामाजिक विकासको क्षेत्रलाई प्राथमिकता दिएको छ । बिहीबार गलकोट नगरपालिकाको १५ औं नगरसभामा आर्थिक वर्ष २०८१÷०८२ को नीति कार्यक्रम प्रस्तुत गर्दै गलकोट नगरप्रमुख भरत शर्मा गैरेले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिईएको बताए ।
नगरपालिकाले नगर अस्पतालको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउँदै सिईओएनसी सेवा सञ्चालनमा ल्याउने, डाईलासिस र फिजियोथेरापी सेवा थपका लागि अध्ययन गर्ने, नगर अस्पतालमा अक्सीजन प्लान्ट स्थापना गर्ने कार्य अगाडि बढाउने र नगर प्रमुखसंग थ्रोम्बोलाईसिस कार्यक्रम सञ्चालन गरी हृदयघात भएका बिरामीहरको उपचार सुरु गर्ने नीति कार्यक्रममा उल्लेख गरेको छ । नीति कार्यक्रममा एक दर्जन बढि नागरिक स्वास्थ्यसंग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई प्राथमिकता दिईएको छ ।
विपन्न नागरिकको उपचारमा नगरपालिकाले उपचार कोष स्थापना गर्ने, गलकोट नगर अस्पतालबाट अन्यत्र बिरामी रिफर गर्नु परेमा नगरपालिकाले खर्चको जोहो गर्ने नीति कार्यक्रमा उल्लेख छ । अस्पतालको प्रयोगशाला व्यवस्थित बनाउने र मध्यपहाडी लोकमार्गमा सहरी स्वास्थ्य केन्द्र पनि स्थापना गर्ने घोषणा गरिएको छ । राजमार्गमा हुने सडक दुर्घटनाको उपचारका लागि उक्त केन्द्र उपयोगी हुने बताइएको छ । नगरपालिकाको स्वास्थ्य प्रोफाइल तयार गर्ने, सबै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी बनाउने अभियान अनुसार भवन बन्न बा“की रहेको वडा नम्बर १ र ७ मा स्वास्थ्यचौकी बनाउने बताईएको छ ।
नागरिक स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको स्वच्छ खानेपानीलार्य हरेक बस्तीमा पु¥याउने, नसर्ने रोगको स्क्रिनिङ शिविर गर्ने, जेष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी पुगेर उपचार सेवा दिने र विपन्नको उपचारमा आर्थिक सहायता दिने, पोषण तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालन गर्ने र सबै स्वास्थ्य संस्थालाई न्यूनतम मापदण्ड मूल्याङ्कन गरेर दक्ष बनाउने नीति समेत लिइएको उल्लेख छ ।
गलकोटले अहिले पनि गर्भवती महिलालाई निरन्तर निगरानी गर्ने र निमियत स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई चार हजार ६ सय रुपैयाँ पोषण र प्रोत्साहन खर्च दिने गरेको छ । नगरपालिकाले प्रारम्भीक बाल शिक्षालाई गुणस्तरीय बनाउने, विद्यालयको तह मिलानका कारण मर्कामा परेका समुदायका विद्यार्थीका लागि छात्राबासको प्रवन्ध गरी निःशुल्क आवासीय सुविधा सहित पढ्ने व्यवस्था मिलाउने, सरकारी लाभको पदमा बसेका व्यक्तिले गलकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयमा आफ्ना नानीबाबुहरुलाई भर्ना गरी पढाएमा विशेष प्रोत्साहन गर्ने कार्यक्रम ल्याईनेछ ।
सामुदायिक विद्यालयमा विद्यार्थीसंग नगरप्रमुख कार्यक्रम सञ्चालन गर्ने, विद्यालय तहको विभिन्न कक्षाको परीक्षाका लागि नगरपालिकास्तरबाटै प्रश्नपत्र तयार गर्ने, प्रसुति विदामा बसेका शिक्षक तथा बालविकास सहजकर्ताको विकल्पमा विदा अवधीभर सट्टा शिक्षकको व्यवस्था गर्ने नीति कार्यक्रममा लेखिएको छ ।
नगरप्रमुख गैरेले गलकोटकै पहिचानको रुपमा रहेको गलकोटको असला माछा संरक्षणका लागि नीतिगत व्यवस्था गरेर अगाडि बढेको र आगामी दिनमा माछा मार्नका लागि इजाजतपत्रको व्यवस्था गर्ने र नगरपालिकाले तोेकेको अवधीमा तोकिएको विधि अनुसार मात्रै माछा मार्न पाईने बताए । निकै स्वादिलो हुने दरमखोलाको असला माछाको देश विदेशमा निकै माग बढ्दो छ । माग गर्दै गर्दा जथाभावी करेन्ट लगाएर माछा मार्ने प्रचलन बढेपछि नगरपालिकाले कडाई गर्न सुरु गरेको छ ।
टेउवा स्थित मुर्तिकला कार्यशाला, ऐतिहासिक कोतघर, सहश्र झरना, रमुवा, निलुवा र घुम्टेलाई पर्यटकीय गन्तव्य बनाउनै, कृषि उत्पादनमा आधारित अनुदान दिने, किसानको उत्पादनको बजारीकरणमा नगरले अपनत्व लिने व्यवस्था गरेको नीतिमा उल्लेख छ । नगर क्षेत्र भित्रको फोहोरको दीगो व्यवस्थापन, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन युवालाई तालिम दिनै, पशु वधशाला व्यवस्थित बनाउने र खोलानदी सफाइमा ध्यान दिने नीतिमा उल्लेख छ ।