बागलुङ पहिलो दिन स्वतन्त्र र साना दलको मात्र उम्मेदवारी दर्ता, ठुला दलले टुंगाउन सकेनन,

  • ब‌ैशाख ११, २०७९

बागलुङ- स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ताको पहिलो दिन निर्वाचन अधिकृतको कार्यालय सुनसान भएका छन् । १० पालिका रहेको बागलुङका कुनै पनि पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा चहल पहल भएन । जिल्लामा क्रियाशील ठूला राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गर्ने पहिलो दिन घर्किदासम्म पनि आफ्नो उम्मेदवारी टुंग्याउन सकेनन् । पाँच दलिय गबन्धनबीच आईतबार दिनभरी पनि सहमती जुट्न सकेन । पालिका तहमा फुस्किएको गाँठो फेरी वडा तहमा पुगेर कसियो । काठेखोला गाउँपालिकाको वडा नम्बर ४ तंग्राममा पुगेर काँग्रेस र जनमोर्चाबीच गाँठो परेको बताईएको छ । 
काँग्रेस र जनमोर्चाबीच तीब्र प्रतिस्पर्धा हुने ठाउँ भएकाले दुबैले दाबी गर्दा गाँठो परेको हो । गत स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवार केशरबहादुर थापा केशवले जम्मा १४ मतान्तरले राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक थापालाई वडाध्यक्षमा पराजित गरेका थिए । निकै थोरै मतको मात्रै प्रतिस्पर्धा भएका कारण दुबैले पार्टी उक्त वडालाई प्रतिष्ठाको विषय बनाउँदा पालिका तहमा टुंगिएको कुरा वडामा अल्झिएको बुझिएको छ । एकिकृत समाजवादी पार्टीले बागलुङमा मुख्य दलहरु काँग्रेस माओवादी र राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीलाई सम्मान जनक स्थान नदिएको भन्दै शुक्रबारदेखि नै बैठकमा सहभागी नभएकोमा साँझ बैठकमा छिरेको छ । यही बीचमा फेरि राष्ट्रिय जनमोर्चाले बैठक छाडेर हिँडेको छ । 
बागलुङका चार पालिकामा कुनै पनि उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छैनन् । ताराखोला गाउँपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पहिलो दिन कुनै पनि उम्मेदवारले उम्मेदवारी दिएनन् । 
ढोरपाटनमा राप्रपाबाट निमबहादुर भण्डारी 
जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाको नगर प्रमुख (मेयर) का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र आफ्नो उम्मेदवारी दर्ता गरेको छ । ढोरपाटन नगरपालिकामा राप्रपाको तर्फबाट निमबहादुर भण्डारीले नगरप्रमुखका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन । नगरपालिकामा राप्रपा बाहेक अन्य कुनै पनि दलको उम्मेदवारी नपरेको ढोरपाटन नगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।
 रिजालका अनुसार मेयरसँगै राप्रपाको तर्फबाट वडा नं. ६ को वडा अध्यक्ष सहित वडा सदस्यमा पनि उम्मेदारी दर्ता भएको छ । वडा नंं. ६ को वडा अध्यक्षमा तुल बहादुर भण्डारी महिला सदस्यमा मनिषा भण्डारी, खुल्ला सदस्यमा जितबहादुर थापा र मुना भण्डारीको उम्मेदावारी परेको छ । राप्रपाले बाहेक अन्य कुनै पनि राजनितिक दल वा स्वतन्त्र रुपमा उम्मेदवारी नदिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 
जैमिनीको उपप्रमुखमा रुद्राकुमारी स्वतन्त्र उम्मेदवार 
यता जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्रकुमारी रोका क्षेत्रीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन् । पाँच दलीय गठबन्धन भागबन्डाका लागि छलफलमै बसिरहेको बेला उनले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । 
जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेकी राजमो नेतृ क्षेत्रीले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । क्षेत्रीले आइतबार दिउँसो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत सूर्य प्रसाद भण्डारीले जानकारी दिए । गत निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट कार्यपालिका सदस्य रहेकी उनले पदबाट राजिनामा दिएर उम्मेदवारी दर्ता गराएको बुझिएको छ । लामो समय निकै पेचिलो बनेको जैमिनी नगरपालिकामा प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गर्ने मोटामोटी सहमती भए पनि स्वतन्त्र उम्मेदवारी पर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले मेयर जितेको जैमिनी नगरपालिका जिल्लामा गठबन्धन कायमै राख्न राष्ट्रिय जनमोर्चालाई छोडेको थियो । निकै पेचिलो भएर काँग्रेस छोड्न तयार हुँदा पनि काँग्रेस कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी हाल्ने चेतावनी दिएका कारण त्यसको काउन्टरमा स्वतन्त्र उम्मेदवारी हालेको हुनसक्ने अड्कलबाजी गरिएको छ । क्षेत्रीको उम्मेदवारीको तात्पर्य उम्मेदवारी फिर्ता लिने दिनसम्म थाहा होला ।
निर्वाचन अधिकृत भण्डारीका अनुसार आईतबार जैमिनी नगरपालिकामा चार जना वडाअध्यक्षको उमेदवारी दर्ता भएको छ । वडा नम्बर २ मा राप्रपाका यज्ञप्रसाद सापकोटा, ६ मा राप्रपाकै याम बहादुर क्षेत्री, वडा नम्बर ९ मा मंगोलियन नेशनल अर्गनाईजेसनका सहबिर थापा र वडा नम्बर ३ मा कृष्ण बहादुर पाण्डेले स्वतन्त्र उमेदवारी दर्ता गरे ।
बागलुङको उपमेयरमा ताराकुमारी 
जिल्लाको बागलुङ नगरपालिकामा एक जनाको मात्रै उम्मेदवारी परेको छ । उपमेयरमा ताराकुमारी रिजालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी छन । बागलुङ नगरपालिका–१३ की रिजालले स्वतन्त्र रुपमा उपप्रमुखका लागि उम्मेदवारी दर्ता गराएको बागलुङ नगरपालिकाका सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिए । 
बडिगाडमा राप्रपाको मात्रै  

बडिगाड गाउँपालिकामा पाँच जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । राप्रपाका तर्फबाट वडा नम्बर ५ मा पाँच जनाको उम्मेदवारी दर्ता भएको बडिगाड गाउँपालिकाकी निर्वाचन अधिकृत सीतादेवी सुवेदीले जानकारी दिए । वडा नम्बर ५ को वडा अध्यक्षमा अध्यक्ष शंकर खरेल, वडा सदस्य प्रेम खरेल, जीवन घिमिरे, सीता आचार्य र मिना दर्जीले उम्मेदवारी दर्ता गराएको सुवेदीले जानकारी बताए ।

निसीखोलामा चारजनाको उम्मेदवारी 
निसीखोला गाउँपालिकामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाको तर्फबाट गाउँपालिका अध्यक्षका लागि कृष्णबहादुर मल्ल, उपाध्यक्षमा शान्तकुमारी चन्दले उम्मेदवारी दर्ता गराएको निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिए । त्यस्तै राप्रपाकै तर्फबाट वडा नम्बर ३ वडा अध्यक्ष रामचन्द्र शेन र वडा सदस्यमा होमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएको गिरीले बताए । 
काठेखोला ५ मा कंडेलको स्वतन्त्र उम्मेदवारी
बागलुङको काठेखोला गाउँपालिका ५ दहपानीका होमनाथ कंडेलले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । कंडेलले आइतबार दिउसो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत हर्क खत्रीले बताए । उम्मेदवारी दर्ता पछि कंडेलले यस अघिका स्थानीय तह निर्वाचन, प्रदेश र संघका निर्वाचनमा पनि आफुले उम्मेदवार हेरेर मतदान गरेको र आफु सधै समाजिक काममा सक्रिय रहेकाले आफुलाई पनि सबैले मतदान गर्ने बताए ।

प्रतिक्रिया