नेपाली सेनाको विपद व्यवस्थापन सम्बन्धी अभ्यास

  • जेठ २१, २०८२

बागलुङ । भनिन्छ विपद् बाजा बजाएर आउँदैन । मानव जीवनमा अप्ठ्यारो, आपतकालीन, भयभित अवस्था सिर्जना भई धनजनको क्षति हुनु विपद्को समय हो । यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्का बेला सधैँ होसियारी सहित तयारी हुनुपर्छ । विपत्ति प्राकृतिक र मानविय दुई कारणबाट हुने गर्दछ ।

प्राकृतिक विपत्तिमा हुने बाढी, पहिरो, भूकम्प, आँधी, तुफान, चट्याङ, स्वास्थ्यको प्रकोप जस्ता विपद् पर्दछन् भने मानवीय कारणबाट हुने विपदमा आगलागी, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट जोखिम भएको हुन्छ । 

मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा नेपाली सेनाको कालीजंग गण घोडाबाँधे बागलुङले कृतिम घटनाको अभ्यास प्रदर्शन गरेको छ ।

बाढी, पहिरो, डुबानबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्वार घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने, अशक्त भएकालाई प्राथमिक उपचार सँगै चाँडो सुविधा सम्पन्न अस्पतालमा एम्बुलेन्स मार्फत लैजाने लगायतका डेमो प्रदर्शन गरिएको नेपाली सेनाको कालीजंग गणका गणपति शिब बहादुर अधिकारीले जानकारी दिए । 

नेपाली सेनाद्धारा विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन जिल्लामा विभिन्न समयमा हुने विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास गलकोट नगरपालिका वडा नम्वर ३, ५ र ७ को संगम स्थल मध्यपहाडी लोकमार्ग स्थित दरमखोला पुलमा सम्पन्न भएको छ ।

नेपाली सेनाको कालीजंग गण घोडाबाँधे बागलुङको आयोजनामा १ दिने समुदायमा विपद् प्रतिकार्य तथा कृत्रिम घटनाको अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।

प्रदर्शनी कार्यक्रममा कृत्रिम घटना अभ्यासका लागि एम्बुलेन्स, ड्रोन क्यामेरा, रबर बोट, मोटर वोट, लाइफ ज्याकेट, विभिन्न औजार तथा उपकरण सहित बन्दोबस्तीका सामग्रीहरु नेपाली सेनाले प्रयोग गरेको थियो ।

सरोकारवाला सँगको समन्वयमा, स्थानियको उपस्थिती, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नागरिकको सहभागितामा नेपाली सेनाको घोडाबाँधे स्थित कालीजंग गणले उक्त प्रदर्शनी आज एक कार्यक्रमका बिच सम्पन्न गरेको हो । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर  थापाले बागलुङ जिल्ला विपद्मा जोखिमयुक्त जिल्ला भएकोले यो कार्यक्रमले विपदमा नागरिकको उद्वारमा खेलिने भुमिकाको अभ्यास सहित आवश्यक तयारी भएको बताए । 

 गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले समाजमा हुने हरेक प्रकारका विपत्मा नेपाली सेना, नेपाल प्रहरी, सरकार, नागरिक र विपत्प्रतिकार्य तालिम प्राप्त नागरिकको सहकार्य हुनुपर्ने कुरामा जोड दिए । 

कार्यक्रम सफल पार्न सहयोग गर्ने जनप्रतिनिधी, संघसंस्था, सरोकारवाला र नागरिकलाई नेपाली सेनाले धन्यवाद समेत ज्ञापन गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ससस्त्र प्रहरी प्रमुख लगायतको उपस्थित रहेको थियो ।  नमुना अभ्यास कार्यक्रम नेपाली सेनाको कालीजंग गणका क्याप्टेन प्रनव झाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय