एमालेबाट टिकट, स्वतन्त्र उम्मेदवारी दर्ता

  • असोज २४, २०७९

बागलुङ-  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आईतबार मनोनयन दर्ता भएको छ । विभिन्न राजनितिक दल सँगै केहीले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन । जिल्लाको क्षेत्र नं. २ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि उम्मेदवार दिएका प्रकाश घर्ति मगर नेकपा एमालेबाट टिकट पाएता पनि उनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन । 
घर्तिले एमालेले दिएको टिकट नलिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छन । ‘म नेकपा एमालेले दिएको टिकटमा उम्मेदवारी दिएको छैन । स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेको हुँ । घर्तिले भने, –‘एमालेको यस क्षेत्रमा अधिकारीक कुनै उम्मेदवार नभएका कारण मलाई साथ र समर्थन रहेको छ । मेरो चुनाव चिन्ह सुर्य हुने छैन । निर्वाचन अधिकृतको कार्यालयमा चुनाव चिन्ह प्राप्त गरेपछी त्यही लिएर प्रचार प्रसारमा होमिनेछु ।’ घर्तिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि नेकपा एमालेले यस क्षेत्रमा घर्तिकै नाम राखेर पठाएको थियो । नेकपा एमालेले यस क्षेत्रमा प्रतिनिधि सभा तर्फ मञ्जु शर्मा चालिसे र प्रदेश सभा (क) मा प्रकाश घर्ति मगर र प्रदेश सभा (ख) मा लक्ष्मण पुनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोही अनुसार उम्मेदवारी दर्ता गर्न गए पनि घर्तिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको नेकपा एमाले बागलुङका सचिव विष्णु भुसालले जानकारी दिए । भुषालका अनुसार प्रदेश सभा क्षेत्रमा एमालेको आधकारीक उम्मेदवार नै घर्ति रहेका छन । ‘हामीले उहाँलाई नै आधिकारीक उम्मेदवारको रुपमा अगाडी सारेका हौं । भुषालले भने, उहाँले उम्मेदवारी स्वतन्त्र रुपमा दर्ता गरेपनि एमालेको साथ र समर्थन उहाँलाई नै गर्ने निर्णय भएको छ ।’  
नेकपा माओबादी केन्द्रको राजनितिमा सक्रिय रहेका घर्ति ताराखोला गाउँपालिकाको निवर्तमान गाउँपालिका अध्यक्ष हुन । उनि गत स्थानिय तहको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दिएका थिए । जनयुद्धकाल देखी नै माओबादीको राजनितीमा सक्रिय उनि यस पटक नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रस्तुत भएका छन । घर्तिको नेपाली काँग्रेसका उम्मेदवार जित बहादुर शेरचन सँग प्रतिस्पर्धा हुने देखिएको छ । शेरचन काँग्रेसका जिल्ला सभापति हुन भने सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन । यस क्षेत्रको प्रतिनिधि सभा तर्फ गठबन्धनमा नेकपा माओबादी केन्द्रका सचिव एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उम्मेदवारी रहेको छ । गठबन्धनमा प्रतिनिधि सभा माओबादी केन्द्र र प्रदेश सभाका दुई वटै क्षेत्र काँग्रेसको भागमा परेको थियो ।  घर्ति सँगै भिमलाल पोखरेल पनि स्वतन्त्र उम्मेदवार रहेका छन । पोखरेल राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव हुन । 
 

प्रतिक्रिया