नाच्नेडाँडामा गुञ्जिए तीजका भाका

  • भदौ ११, २०८२

बागलुङ-   तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् । विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर पििन यही रहेकाले नाच्नेडाँडाको ऐतिहासिक महत्व पुष्टि हुन्छ । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडा तीजको पर्याय नै बनेको छ । तीज आयो कि यहाँको रौनक फेरिइहाल्छ ।

तीजमा नाचगान हुन थालेपछि ठाउँको नामै नाच्नेडाँडा रहन गएको हो । यहाँ बर्सेनि तीजमा मेला लाग्छ । यसपालि पनि दुई दिनसम्म मेला चल्यो । कुनैताका स्वतःस्फूर्त ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ ।

सोमबार तीजको दर खाने दिन थियो । गाउँका छोरीचेली नाच्नेडाँडामा भेला भएर सामूहिक दर खाए । तीजका गीतमा छमछमी नाचे । कूर्चीदौडलगायत खेलमा रमाए । मङ्गलबार तीज गीत तथा नृत्य प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम भए । कलाकारले प्रस्तुति दिए ।

प्रतियोगितामा ११ समूहले भाग लिएको मेला आयोजक नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले जानकारी दिनुभयो । मेलाका अवसरमा ज्येष्ठ महिला टुल्की दर्जी र सामाजिक अभियानकर्मी ललिता थापालाई सम्मान गरिएको उहाँले बताउनुभयो । तीज गीत तथा नृत्य प्रतियोगितामा न्यू लाइफ इङ्गलिस बोर्डिङ स्कूलको समूह प्रथम भई रू २५ हजार पुरस्कार प्राप्त गर्यो । दोस्रो स्थान हासिल गरेको जनहित माध्यमिक विद्यालयले रू २० हजार, तेस्रो हुने टोल सुधार आमा समूह, हरिचौरले रू १५ हजार, गलकोट बोर्डिङ स्कूल र गोल्डेन फ्यूचर बोर्डिङ स्कूलले सान्त्वना स्थान प्राप्त गरी रू पाँच हजारका दरले पुरस्कार हात पारे । 

प्रतियोगितामा सहभागीले मौलिक सृजनामा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारले तीजका पुराना भाकामा महिलाका दुःख, बेदनासहित सामाजिक विषयवस्तुलाई उठाएका थिए ।

मेलाको उद्घाटनका क्रममा गण्डकी प्रदेशसभा सदस्य दिलमाया पौवीले तीज पर्वको मौलिकतालाई जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृति संरक्षणसँगै महिला सशक्तीकरण र अधिकारको रक्षाका दृष्टिले पनि तीजलाई हेर्नुपर्ने बताउनुभयो । उहाँले सिद्धेश्वर शिवालय मन्दिरलगायत नाच्नेडाँडामा आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

गलकोट–७ का वडाध्यक्ष राज थापाले विसं २०५० देखि तीज गीत तथा नृत्यलाई प्रतियोगितात्मक रुपमा सञ्चालन गर्न थालिएको बताउनुभयो । “त्योभन्दा पहिले स्वतःस्र्फूत रुपमा तीज मेला लाग्थ्यो, परम्परागत रुपमा त्यो चलेको थियो, विसं २०५० पछि मेला व्यवस्थित र संस्थागत गरिएको हो”, उहाँले भन्नुभयो, “नाच्नेडाँडा गलकोट क्षेत्रकै ऐतिहासिक थलो हो, यसको संरक्षण र विकासमा स्थानीय समुदायको ठूलो योगदान छ ।”

दशकौँ पुरानो नाच्नेडाँडाको तीज मेला हेर्न गलकोट र बाहिरबाटसमेत आगन्तुक आउने गरेका छन् । सोही ठाउँमा अवस्थित दुई सय ७२ वर्ष पुरानो सिद्देश्वर शिवालय मन्दिरले पनि तीज पर्व र नाच्नेडाँडाको महिमा बढाएको हो ।

तीजमा महादेवको व्रत बस्ने र पूजाआजा गर्ने महिलाको त्यहाँ उत्तिकै भीड लाग्छ । तीज लगत्तै पर्ने ऋषिपञ्चमीमा पनि शिवालयमा चहलपहल हुन्छ । पहिलेपहिले टाढा–टाढाबाट माइतीघर आएका चेलीबेटी भेट हुने, दुःख–सुख साट्ने, रमाउने ठाउँ नै यहीँ नाच्नेडाँडा हुन्थ्यो । समय बदलिए पनि यो ठाउँको पहिचानलाई कायमै राख्न स्थानीय समुदाय लागिपरेका छन् । गलकोट क्षेत्रकै पुरानो शिवालय पनि यहीँ भएकाले यो ठाउँको विशेष महत्व रहेको छ ।

अहिलेको पुस्ताले नयाँ स्वरुपमा भएपनि तीज मेलालाई निरन्तरता दिएका छन् । बर्सेनि मेलामा खुला तीज गीत तथा नृत्य प्रतियोगिता, सामूहिक दर खाने कार्यक्रम, कुर्चीदौड, घैँटोफोडलगायतका कार्यक्रम आयोजना गर्ने गरिन्छ । मेलाले तीजको पुरानो परम्परालाई जोगाउन मद्दत पुगेको समाजका सचिव कोपिला थापाले बताउनुभयो । मौलिक तीज गीत, नृत्य, दर खाने कार्यक्रम आदिले नयाँ संस्कृतिको पुस्तान्तरणमा पनि सघाउने  उहाँको भनाइ छ ।

तीजमा आउने व्रतालु महिला र अरु भक्तजनका लागि सिद्धेश्वर शिवालयमा पूजाआजाका लागि पनि विशेष प्रबन्ध मिलाउने गरिएको छ । मन्दिर परिसरमा १०८ शिवलिङ्ग मण्डप निर्माण गरिएको छ ।

यस क्षेत्रमै पहिलोपटक शिवलिङ्ग मण्डप बनेपछि पछिल्लो समय शिवालय मन्दिरमा भक्तजनको आकर्षण बढेको हो । झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदर्शी पर्वमा विशेष मेला लाग्ने गर्छ । शिवालयमा नित्य पूजाआजासमेत हुने गरेको छ । पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यहाँ बस्न थालेपछि शिवालय स्थापना गरिएको गाउँका अगुवा बताउँछन् ।

उक्त मन्दिर अहिले जीर्ण अवस्थामा छ । समितिले मन्दिरको पुनःनिर्माणसहित वृहत्तर विकास योजना अघि बढाएको छ । पुरातात्विक कलाकौशल झल्कने गरी मन्दिर पुनःनिर्माण गरिने जनाइएको छ । मन्दिरसहित धर्मशाला, सभाकक्षलगायतका संरचना यहाँ बन्नेछन् । रासस

प्रतिक्रिया