बागलुङ, - बागलुङमा आयोजित औपचारिक तथा अनौपचारिक क्षेत्रका सरोकारवालासँगको योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी कार्यशालामा वक्ताहरूले सबै श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन ।
कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले श्रमिकहरूको हकहित संरक्षण र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी माध्यम भएको बताए । उनले सरकारी क्षेत्रमा कार्यरत कर्मचारी मात्र नभई निजी उद्योग, व्यवसाय, शैक्षिक संस्था तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई समेत सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउन आवश्यक रहेको उल्लेख गरे ।
“सामाजिक सुरक्षा कार्यक्रम श्रमिकको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण आधार हो,” नगरप्रमुख श्रेष्ठले भने, “यसमा सबै रोजगारदाता र श्रमिकको सक्रिय सहभागिता आवश्यक छ। निजी क्षेत्र र शैक्षिक संस्थाहरूले पनि आफ्नो दायित्व बुझेर कार्यक्रमसँग जोडिनुपर्छ ।”
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुंगानाले सामाजिक सुरक्षा कोषले श्रमिकको सामाजिक तथा आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकलाई स्वास्थ्य, दुर्घटना, मातृत्व, आश्रित परिवार सुरक्षा लगायतका विभिन्न सुविधाको सुनिश्चितता गर्ने भएकाले यसको पहुँच अझ विस्तार गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष गण्डकी प्रदेश कार्यालयका प्रमुख डीपी सुन्दर पराजुलीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको उद्देश्य, कानुनी व्यवस्था, सहभागिताको प्रक्रिया तथा कोषमार्फत उपलब्ध गराइने सुविधाबारे जानकारी गराएका थिए । उनले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन कोषले विभिन्न सचेतनामूलक तथा सहजीकरण कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
कार्यशालामा बागलुङ, पर्वत र म्याग्दी जिल्लाका उद्यमी, व्यवसायी, रोजगारदाता, निजी क्षेत्रका प्रतिनिधि तथा विभिन्न संस्थामा कार्यरत व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, चुनौती तथा सम्भावनाका विषयमा छलफल गरेका थिए ।
मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्त्रालयका शाखा अधिकृत दामोदर बरालले गरेका थिए भने सञ्चालन शाखा अधिकृत अञ्जना शर्माले गरेकी थिइन्।