• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

२६ बर्षिय पवन हमाल बने बागलुङका कान्छा वडा अध्यक्ष

  • जेठ ९, २०७९

नारायण रिजाल, बागलुङ- सामाजिक क्षेत्र र राजनितिक क्षेत्रमा जसले धेरै समय योगदान गरेको छ त्यस्ता नेता तथा कार्यकर्तालाई विभिन्न राजनितिक दलहरुले अवसर दिने प्रचलन छ । हरेक राजनीतिक पार्टीले कुनै व्यक्तिको पार्टीप्रतिको लगाब र उसको योगदान हेरेर नै राज्यका महत्वपुर्ण स्थानमा जानका लागि अवसर दिन्छन् । त्यस्तै अबसर पाउने यहाँका एक युवा जिल्लाका सवैभन्दा कान्छा वडाध्यक्ष बनेका छन् ।
    बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा हालै निर्वाचित भएका पवन हमाल जिल्लाकै सवैभन्दा कान्छा वडा अध्यक्ष बनेका हुन । २०५२ सालमा जन्मिभएका हमाल २६ वर्षको उमेरमै वडाअध्यक्ष जस्तो महत्वपुर्ण पदमा भारी मतका साथ बिजयी भएका हुन् ।
बाणिज्य शास्त्रको विद्यार्थी वडा अध्यक्ष
    बाणिज्य शास्त्रमा स्नातक तह सम्मको अध्ययन गरेका हमाल सानै देखी नेपाली काँग्रेसको राजनितिमा सक्रिय भए । जुझारु, क्रियाशील र मिलनसार युवालाई पार्टीले समेत प्राथमिकतामा राखेर टिकट दिएपछि उनले अत्याधिक बहुमतले बिजयी प्राप्त गरेका हुन् । जोश र जाँगर भएको युवाले गाउँमा केहि परिवर्तन गर्न सक्छ भन्ने ठानेर हमलालाई स्थानिय जनताले विजयी गराएका छन ।
    स्थानिय पृथ्वी मावि हरिचौरमा नेविसंघको राजनितिबाट आफ्नो राजनिति यात्रा सुरु गरेका उनी काँग्रेसको भातृ संस्था नेपाल तरुणदल बागलुङको जिल्ला सदस्य हुँदै हाल गलकोट नगरपालिका–५ को वडा सभापति छन । त्यसका साथै खेलकुद क्षेत्र र अन्य सामाजिक क्षेत्रको नेतृत्व गर्नुका साथै युवा लक्षित कार्यक्रमहरु संचालनमा निकै सक्रिय रहेका थिए । उनलाई नेपाली काँग्रेसका युवाहरुले मात्र नभई सवै राजनीतिक दलका युवाहरुले हरेक कामहरुमा अघि सार्दै आएका छन । आफुले सानैदेखि समाज र समुदायमा गरेको योगदानलाई यहाँका जनताले कदर गरेकोमा आफु निकै उत्साहीत भएको हमाल बताउँछन । 
आफ्नै दलको बागी उम्मेदवारलाई हराएका पवन
    वडा अध्यक्षका लागि उनको पार्टीबाट ५ जना आकंक्षी थिए । पार्टीले पवनलाई नै टिकट दियौं । आकंक्षी मध्ये कमला ढकालले उनका विरुद्ध बागी उम्मेदवारी दर्ता गराईन स्वतन्त्र भएर चुनावी मैदानमा उत्रिईन । ढकालको उम्मेदवारी फिर्ताका लागि पार्टीको विभिन्न तहबाट प्रयास भए पनि उनले उम्मेदवारी फिर्ता गरिनन । हमाल र ढकालकै प्रतिस्पर्धा भयो । अन्तत आफ्नै बागी उम्मेदवारलाई ३८९ मतले पछि पार्दै पवन वडा अध्यक्षमा निर्वाचित भए । ढकाल नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि समेत हुन हाल उनि पार्टीको कारबाहीमा परेकी छन । कुल २ हजार १८० मतदाता रहेको यस वडामा  १ हजार २८५ मत खसेको थियो । हमालले ७११ मत प्राप्त गरेर विजयी भएका छन भने स्वतन्त्र उम्मेदवार ढकालले ३२२ मत प्राप्त गरेकी छन । यस वडामा नेकपा एमालेले जम्मा ५७ मत प्राप्त गरेको थियो । 
मतदाताको मनोभावना अनुसार काम गर्नेछु
    उर्जाशील उमेरमै गाउँको वडाध्यक्ष जस्तो पदमा निर्वाचित भएका हमालले गलकोट नगरपालिका साथै सिङ्गो जिल्लाका युवाको क्षमता तथा नेतृत्व विकासमा निरन्तर लागिरहने बताए । ‘जुन हिसाबले आम जनताले मलाई मत दिएर विजयी गराउनुभएको छ, हाम्रै पार्टीको बागी उम्मेदवार हुँदा हुँदै पनि मलाई विश्वास गर्नुभयो हमालले भने–‘मतदाताको मनोभावना अनुसार काम गर्नेछु मेरो दिन प्रतिदिनको सक्रियता अझै बढ्दै जानेछ, समग्र गलकोटको विकासका निम्ती मेरो भुमिका रहनेछ ।’ 
शिक्षा, स्वास्थ्य कृषि र पर्यटन पहिलो प्राथमिकता
    हमालले आफ्नो वडामा रहेका विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न, सबै नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउन नगर अस्पताललाई व्यवस्थित ढंले संचालन गर्ने बताए । उनले साविकका सवै वार्ड तथा टोलहरुमा पुगेका सडकलाई स्तरोन्नती गर्नुका साथै पक्की बनाउने योजना बनाएका छन । 
स्थानीय स्तरका कृषि, पशुपालन, माछापालन, तरकारी खेती लगायतका सम्भावनाहरुको खोजी गरी सहुलियमा ऋण तथा तालिम प्रदान गर्ने उनका थप योजना छन । ‘राज्यवाट आउने बजेटको सहि सदुपयोग गरी गाउँलेहरुका आर्थिक अवस्थामा सुधार ल्याउने पहिलो प्रयास हुनेछ, हमालले भने,–‘हरिचौरलाई आन्तरिक तथा बाह्र पर्यटकको हवको रुपमा विकास गर्नुछ । यहाँको मुर्तिकला संग्राहलय र ऐतिहासक गलकोट दरबारको विकास गरी पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नेछौं ।’
‘यही माटोमा हुर्कियो यहाँको विकास नै मेरो मुख्य लक्ष्य हो, गाउँको विकास गर्ने सोच बनाएरनै मैले वडाअध्यक्षको उम्मेदवारी दिएको हुँ, जनप्रतिनिधिको रुपमा पाँच वर्षसम्म खट्छु’ उनले भने । 
आफ्नो राजनीतिक दल, मतदाताको सुझाव र प्रतिकृयाका आधारमा आफ्नो आगामी कार्यकाल अघि बढाउने हमालले योजना बनाएका छन् । 
जोशिलो युवा, शिक्षित सवै जाने बुझेको र गर्नसक्ने आँट भएको युवा देखेर पवनलाई पार्टीले टिकट दिएको काँग्रेस बागलुङ महाविधेशन मले जनाएको छ । हमाल जस्ता युवाको जितले सिङ्गो जिल्लासँगै गाउँलेहरु उत्साहित भएको र गाउँ नगरपालिकाको समग्र विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

बागलुङमा युवाको बर्चश्व
जिल्लाका दश स्थानिय तह मध्ये अधिकाशं स्थानिय तहमा युवाहरुले नेतृत्व गरेका छन । जिल्लाको बागलुङ नगरपालिकामा युवा नेता बसन्त कुमार श्रेष्ठ नगरप्रमुख र उपप्रमुखमा राजु खड्का रहेका छन भने जैमिनी नगरपालिकाको नगर उपप्रमुखमा युवा नेता हरिहर शर्मा उपप्रमुख भएका छन । त्यसैगरी ढोरपाटन नगरपालिकाका नगर उपप्रमुखमा धनबहादर कायत कल्याण, तमानखोला गाउँपालिकाको उपाध्यक्षमा जोकलाल बुढा, बरेङ गाउँपालिकाको अध्यक्ष कृष्ण पौडेल बडिगाडको अध्यक्षमा गण्डकी थापा अधिकारी, उपाध्यक्षमा भिमसेन बन काठेखोला गाउँपालिका अध्यक्षमा राजु थापा, ताराखोला गाउँपालिका अध्यक्षमा धनबहादुर विक निर्वाचित भएका छन । यिन सवै युवा रहेका छन । युवाहरुमा जोस र जागर अनुसार काम गरेमा स्थानिय तहको विकासमा केही परिवर्तन आउने विश्वास गरिएको छ । 

प्रतिक्रिया