नारायण रिजाल,बागलुङ । असारे महिना छिनमै पानि पर्ने छिनमै उज्यालो हुने मौसम । गाउँघरमा मानो रोपरेर मुरी फलाउने समय । आफ्नौ खेतबारीमा किसानहरु कामको चटोरोमा हुन्छन । जिल्लाको ताराखोलाका किसान भने खेतीपाती भ्याएर मनाउने पर्व असारे मेलाको चटोरोमा छन । किसानहरु गाउँमा खेतीपाती भ्यायर मध्ये वर्खामा असारे मेला रमाएका छन ।
बर्षौ देखी मनाउँदै आएको परम्परागत मेला यसपाली पनि भव्यताका साथ संचालन गरिएको छ । हरेक वर्ष असार तेस्रो मङ्गलबारदेखि यहाँ ‘असारे मेला’ लाग्छ । यस वर्ष पनि असार १९ गते देखी २४ गते सम्म मेला चलिरहेको छ ।
खुसी साट्ने, मीठो–मसिनो खाने
खुसी साट्ने, मीठो–मसिनो खाने, प्रकृति र देउता पुज्ने पर्वका रुपमा ताराखोलाका तरामी मगरको पुस्तैनी मेला ‘असारे’ हो । पहिले असारे भनेर प्रचलित भए पनि नयाँपुस्ताले ‘असारे मेला’ का रुपमा विकसित गराएका छन । बर्खाको खेतीपाती भ्याएर विश्राम लिन असारे मेला मनाउने गरेको बुढापाका बताउँछन । उजेली पक्ष पारेर मेला सुरु हुने असारे मेला एक साता पहिले जमरा राख्ने र मेला सुरु भएपछि पहिले पिङ राख्ने काम गरिने असारे युवा क्लका अध्यक्ष एवं मेला आयोजक समितिका संयोजक ओम बहादुर रोका बताउँछन ।
तन्देरीले पिङ बाट्छन, तरुनीले खाजा बनाउँछन
बझाङ र डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारेको चलन बसालेको उनको भनाई छ । मेलामा पुखौली परम्परादेखी पूजाआजा गर्ने, बलि चढाईन्छ । ‘तारा गाउँमा रहेको ढुंगामा राँगोको बलि दिने गरिन्छ । रोकाले भने,–‘अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट मङ्गलबार बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन रहेको छ । ‘तन्देरीले पिङ बाट्छन, तरुनीले खाजा (रोटी) बनाउँछन ।
मेला अवधीमा काम गरे जरिवाना तिर्नुपर्ने
मेला अवधीमा काम गर्नेलाई जरिवाना समेत तिराउने चलन थियो अहिले त्यो चलन भने विस्तारै हट्दै गएको छ ।
मेलालाई साँचेर कूल घरमा राखिएको जमरालाई त्यही पिङमा चढाउने र वाचा बाँध्ने गरिन्छ । गाउँलेले मेलालाई ‘असारे बस्ने’ भनेर पनि चिन्छन्। असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ । वर्षात्मा बाढी पहिरोजस्ता प्रकोप नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै प्रकृतिको पुजा गरिने स्थानिय झकबहादुर घर्ती बताउँछन ।
पहिलेपहिले यहाँ आउँदा बालबालिका हराउने गरेको र पछि ढुङ्गामा बलि चढाएर पूजा गर्न थालेपछि हराउन छाडेको भन्ने धार्मिक विश्वास छ । यहाँकातरामीमगरले थातथलो बसाएको ताराखोला गाउँपालिका–४ र ५ मा असारे विशेष रुपमा मनाइन्छ । बलि र पूजापाठ वडा नं ४ को तारागाउँमा हुने गरे पनि मेला भने ५ को करिमेलामा चल्छ । असारेलाई ताराखोलावासीले आफ्नो मौलिक संस्कृति मान्छन् । बर्खे झरीकोसमेत पर्वाह नगरी हर्षोल्लासपूर्वक असारेमा रमाउँछन् ।
३ सय वर्ष देखीको पुरानो संस्कृति
‘३ सय वर्ष अघिदेखि असारेको थिति बसेको बूढापाका बताउँछन् । असारे युवा क्लबका अध्यक्ष ओमबहादुर रोकालेले भने,–‘असारे लाई मेलाको रुपमा परिणत गरेर असारेको परम्परा धान्दै आएको छौं । मेलाको परम्परा धान्ने र नयाँ पुस्तालाई हस्तान्तरणका निम्ती पनि प्रत्येक वर्ष मेला मनाउँदै आईको छ । कोरोना महामारीको समयमा रीतिथितिअनुसार पूजापाठ र वाचा बाँध्ने मात्र काम भयो गत वर्ष देखी पुन निरन्तरता दिईएको छ । ’
असारे ताराखोलाको ऐतिहासिक र साँस्कृतिक महत्वको मेला भएको उहाँको भनाइ छ । पछिल्लो समय मेलाको स्वरुप केही फेरिँदै गएको छ । धार्मिक आस्था, मान्यता र परम्परासँगै मेलालाई नयाँपन दिन थालिएको हो । परम्परागत रुपमा गरिने सँगै मेलामा विभिन्न प्रतियोगिता पनि संचालन गरिँदै आईएको छ । तारागाउँमा रहेको थानमा पूजाआजापछि करिमेलामा सांस्कृतिक कार्यक्रम तथा खेलकुदको आयोजना हुने गरेको क्लबले जनाएको छ । मेलामा पुरुष÷महिला भलिबल प्रतियोगिता, सामूहिक नृत्य, प्रतियोगिता, रस्साकस्सी, धनुषवाण, भाले छुने, स्वलोबाईक रेश प्रतियोगिता लगायतका कार्यक्रम राखिएको अध्यक्ष रोकाले बताए । ताराखोलामा प्रचलित सांस्कृतिक झाँकी, गीत तथा नृत्य पनि प्रदर्शन गर्ने गरिएको छ । मेलामा युवायुवती पिङ खेल्ने, मीठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन ्। खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रुपमा समेत मेलालाई लिइन्छ ।
मेला धार्मिक, सांस्कृतिक मान्यतासँग पनि जोडिएका हुनाले विभिन्न खेलकुद र सांस्कृति कार्यक्रम पनि संचालन गर्ने गरिन्छ । मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौर लगायतका ठाउँबाट सर्वसाधारण आउँछन्। ताराखोलाको अर्गल, हिल, अमरभूमि लगायतका गाउँमा पनि बर्खे मेला हुने गरेको छ ।
पाल्पाको अर्गली र डोल्पाको ताराभोटबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले मेलापर्वको चलन बसालेका हुन् । ताराखोलाका मगर समुदायका परम्परागत मेलाले यस क्षेत्रमा छुट्टै पहिचाहन बोकेको स्थानिय शिक्षक खगेन्द्र विक बताउँछन । पछिल्लो समयमा हरेक संस्कृतिको पुस्तान्तरण उनिहरुले गरिरहेका छन । नयाँ पुस्ताले पनि यहाँ मान्दै आएका हरेक संस्कृतिलाई अगालेको पाईएको उनको भनाई छ । ताराखोला मगर समुदायले भदौरे सिस्नो खोस्ने र भुस पोल्ने लगायतका पर्वहरु पनि आफ्नै परम्परागत रुपमा मनाउने गर्दछन ।