बागलुङ- शुक्रबार विहान ७ बजे देखी सुरु भएको स्थानिय तहको निर्वाचन मतदान साँझ ५ बजे सम्पन्न भएको छ । जिल्लाका दश स्थानिय तहमा ६५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत यज्ञप्रसाद रिजालले जानकारी दिए । बागलुङका १ सय ३ मतदान स्थलको २ सय ३० मतदान केन्द्रमा १ लाख ९५ हजार मतदाता थिए । सबैभन्दा धेरै मतदाता भएको बागलुङ नगरपालिकामा २४ हजार ८ सय बढी मत खसेको छ । यो कुल मतदाताको ६२ प्रतिशत मात्रै हो । जैमिनी नगरपालिकामा १३ हजार ६ सय ३५, गलकोट नगरपालिकमा १४ हजार ४ सय ७१ र ढोरपाटन नगरपालिकामा १७ हजार ६ सय ३० मत खसेको हो ।
निसीखोला गाउँपालिकामा ९ हजार ९ सय २६ र तमानखोलामा ५ हजार ५ सय २५ मत खसेको सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले जानकारी दिए । ताराखोलामा ६ हजार ४ सय २४, बरेङमा ६ हजार २ सय ५३, काठेखोलामा १४ हजार ७ सय र बडिगाड गाउँपालिकामा ६७ प्रतिशत मत खसेको छ ।
जिल्लाभर शान्तिपूर्ण मतदान सम्पन्न
निर्वाचन जिल्लाभर शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । केही स्थानमा सामान्य बिबाद र झगडाले मतदानमा असर परेपनि पुनः सुचारु भएपछि शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए ।
बागलुङका कुनैपनि स्थानमा मतदान स्थगित गर्न नपरेको नै महत्वपूर्ण भएको समेत ढकालको भनाइ छ । यस अघिका हरेक निर्वाचनमा बागलुङको कुनै न कुनै केन्द्रमा मतदान स्थगित हुने र पुनः निर्वाचन गर्नुपर्ने अवस्थाका घटना थिए ।
बागलुङको बागलुङ नगरपालिका–८ को सिगाना, काठेखोला गाउँपालिका ७ को रेश र बडिगाड गाउँपालिका–४ को जलजलामा केही समय एमाले र गठबन्धन समूहबीच झगडा भएको थियो । झगडाका कारण केही समय मतदान स्थगित भएको र बिबाद मिलाएर सुचारु गरिएको ढकालले जानकारी दिए ।
सवै मतदान केन्द्रमा उत्साहपुर्वाक सहभागी
सबै केन्द्रका मतदाता उत्साहपूर्वक मतदानमा सहभागि भएको देखिएको थियो । उपस्थित मतदातामा उत्साह रहेता पनि बसाई सराई र अन्य कारणले सवै मतदात उपस्थित नभएको पाईएको छ । अधिकांस केन्द्रमा मतदाता पुरुष भन्दा महिला धेरै थिए । ‘गाउँ घरमा पुरषको तुलनामा मतदात महिला नै बढि रहेका छन । त्रिभुवन मावि पैयुँपाटामा मतदान अधिकृत धनप्रसाद पोखरेलले भने, ‘रोजगारी र अन्य पेशा व्यवसायले बसाइ सरेकाहरु मतदानमा थोरै मात्र फर्केको देखियो । जति अनुमान गरिएको थियो त्यती मत खस्न सकेन ’
जिल्लाबाट केन्द्रीय राजनितिमा रहेका नेताले कसले कहाँ मतदान गरे ।
जिल्लामा केन्द्रीय राजनितिमा रहेका नेताहरुले विभिन्न स्थानबाट मतदान गरेका छन । शिक्षा मन्त्री देबेन्द्र पौडेलले बागलुङ नगरपालिका–१२ को पृथ्वी हिरण्य माबि मतदान केन्द्रमा मतदान गरे । माओवादी नेता दिननाथ शर्मा र सांसद सूर्य पाठकले पनि सोही केन्द्रमा मतदान गरेका थिए ।
बागलुङ नगरपालिकाका प्रमुखका प्रत्यासी बसन्तकुमार श्रेष्ठले बानपा–२ को बालमन्दिर केन्द्र र जनक पौडेलले बानपा–३ को सरस्वती प्रावि केन्द्रमा मतदान गरे । गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री मणीभद्र शर्मा कंडेलले काठेखोला–८ लेखानी र कृषि मन्त्री चन्द्रबहादुर बुढाले ताराखोला ५ को मतदान केन्द्रमा मत खसालेका थिए । त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री चम्पादेवी खड्काले बानपा २ बालमन्दिरको मतदान केन्द्रमा मतदान गरिन भने संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले त्रिभुवन मावि पैयुँपाटामा मतदान गरे ।
चित्रबहादुरको मत रुपन्देहीमा
बागलुङबाटै पटक पटक निर्वाचित भै सांसद भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने यस पटक बागलुङ मतदान गर्न आएनन । उनले रुपन्देही जिल्लामा बसाई सरेको जानकारी दिए । छोराबुहारी बसाइ सरेर रुपन्देही गए सँगै आफु पनि रुपन्देहीमा आएको बताए ।