उच्च अदालत पोखरा बागलुङ इजलासमा लक्ष्य भन्दा बढि मुद्दा फछ्यौट

  • साउन १५, २०८३

बागलुङ- उच्च अदालत पोखरा बागलुङ इजलासले लक्ष्य भन्दा बढि मुद्दा फछ्यौट गरेकाे छ ।  गत आर्थिक वर्षमा ६५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएकोमा ७६.०१ प्रतिशत प्रगति हाँसिल गरेको छ । अदालतले बिहीबार पत्रकार भेटघाटको कार्यक्रम अदालतको प्रगतीबारे जानकारी गराएको हो । उच्च अदालतमा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ६७ मुद्दा जिम्मेवारी सरेर आएको र नयाँ दर्ता भएका ३०४ थान मुदा गरी जम्मा ३७१ मुद्दा रहेकोमा २८२ मुद्दा फछ्र्यौट भएका छन् । उच्च अदालत पोखरा बागलुङ इजलासका रजिस्ट्रार रामबहादुर थापाले लक्ष्यभन्दा बढि मुद्दा फछ्र्यौट गर्न सफल भएको बताए ।
 उच्च अदालत पोखरा बागलुङ इजलासले अघिल्लो वर्ष जिम्मेवारी सरेको मुद्दा सहित नयाँ ४३९ मुद्दा थपिएर ५०६ वटा मुद्दा हुने र त्यसको ६५ प्रतिशत अर्थात ३३१ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको थियो । मुद्दाको दर्ता संख्या नै कम भएकाले लक्ष्य अनुसार फछर्यौट हुने मुद्दाको संख्या पनि कम भएको उनले बताए । ‘मुद्दाको संख्या कमी भएकाले फछ्र्यौट हुने मुद्दाको संख्यामा पनि कमी देखिएको छ, तर मुद्दा अनुसार फछ्र्यौट भएको मुद्दाको प्रतिशतमा चाँही हामी लक्ष्यभन्दा अगाडि नै छौं,’ उनले भने । गत आर्थिक वर्षमा कुल ३७१ मुद्दामध्ये ८९ मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको छ ।
 यीमध्ये ६ महिनाभन्दा पुराना ७ मुद्दा र ६ महिना भित्रका ८२ मुद्दा रहेका छन् । पछिल्लो तीन आर्थिक वर्षमा उच्च अदालत पोखरा बागलुङ इजलासमा मुद्दा दर्ता हुने संख्या कम हुँदै गएको छ । आर्थिक वर्ष २०८०/०८१ मा कुल ५२१ मुद्दा रहेकोमा ४५८ मुद्दा फछ्र्यौट भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा ४०३ मुद्दामध्ये ३३६ मुद्दा फछ्र्यौट भएको थियो । गत आर्थिक वर्ष २०८२/०८३ मा ३७१ मुद्दामध्ये २८२ फछ्र्यौट भएको छ । इजलासले जिम्मेवारी सरेका ८९ वटा र नयाँ दर्ता ३६८ गरी कुल ४५७ मुद्दा चालु आर्थिक वर्षमा कायम हुने र त्यसमध्ये ६६ प्रतिशत अर्थात ३०१ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएको जनाएको छ । 
उच्च अदालतमा आएको मुद्दाहरुमा मेलमिलापको संख्या भने निकै कम देखिएको छ । १८९ मुद्दा मेलमिलाप हुनसक्ने देखिएकोमा ७९ मुद्दा अदालत मेलमिमलापका लागि पठाएको थियो । उक्त मुद्दामध्ये जम्मा ७ थान मुद्दामा मात्रै सफलता हात लागेको अदालतले जनाएको छ । या जम्मा ८.८६ प्रतिशत हो । उच्च अदालत पोखरा बागलुङ इजलासमा १४ जना मेलमिलापकर्ता दर्ता रहेका छन् । उच्च अदालत पोखरा बागलुङ इजलासमा फौजदारीतर्फ कर्तव्य ज्यान, जबरजस्ती करणी लगायतका मुद्दा बढि पुनरावेदन भएर आएका छन् ।
देवानीतर्फ सम्बन्ध विच्छेद, अंशबन्डा, चेक अनादर, जालसाजी लगायतका मुद्दामा पुनरावेदन भएका छन् । कार्यक्रममा उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य भइ काम गर्ने न्यायाधीस नातिबाबु लामिछानेले निर्वाचन लगायतका कारणले मुद्दा फैसलामा कमी आएको बताए । वैशाख जेठ र असारमा आउने मुद्दाहरुमा अंग पु¥याउन बाँकी रहने भएकाले पनि अघिल्लो आर्थिक वर्षको मुद्दा जिम्मेवारी सरेर आउने गरेको बताए । 

 

प्रतिक्रिया