काँग्रेस क्षेत्र नं. १ (ख) ले निर्वाचन लक्षित कार्यक्रम संचालन गर्ने

  • फाल्गुण १४, २०७८

बागलुङ- नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) ले निर्वाचन लक्षित कार्यक्रम तय गरेको छ । सरकारले आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचन तोके सँगै काँग्रेसले प्रदेश क्षेत्र अन्तरगतका १८ वटै वडामा निर्वाचन लक्षिण कार्यक्रम संचालन गर्ने भएको हो । 
    प्रदेश समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको क्षेत्रीय सभापति दलबहादुर श्रीष रानाले बताए । अभियान अन्तरगत ‘तरुण जागौं, गाउँ जाऔं जनता जगाउँ काँग्रेस जिताउँ ’ अभियान संचालन गर्ने भएको छ । उक्त अभियानको सुरुवात यही फागुन १९ गते जैमिनी नगरपालिकाको कुश्मिसेरामा बृहत ¥याली तथा सभाको आयोजना गरि गरिने छ ।  सभामा नेपाली काँग्रेसले गाउँ टोल सम्म ल्याएका कार्यक्रमको बारेमा र एमसिसीको बारेमा प्रष्ट पारेर युवाहरुलाई परिचालन गरिने सभापति श्रीषले बताए  । 
    १९ गते देखी सुरु भएको उक्त अभियाना यस क्षेत्रका सवै वडामा संचालन गरिने प्रदेश समितिको सचिव बाकृष्ण शर्माले जानकारी दिए । क्षेत्रीय समितिले आगामी फागुन २५ गते भित्र प्रदेश समितिका १८ वटै वडाका हरेक टोलटोलमा काँग्रेसको संगठन विस्तार गरेर क्षेत्रीय समितिलाई जानकारी गराउन वडा सभापतिहरुलाई आग्रह गरेको छ । बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका पर्ने यस क्षेत्रका सवै वडामा पार्टीको वडा कार्यालय समेत स्थापनाका गर्नका लागि पनि प्रदेश समितिले आग्रह गरेको सचिव शर्माले बताए । समितिले गाउँ गाउँ सम्म एमसिसीको बारेमा आम कार्यकर्तालाई बुझाउनका लागि जिल्ला समिति र केन्द्रिय समितिको सर्कुलर अनुसार कार्यक्रम तय गर्ने योजना बनाएको छ । 
    बैठकमा आफ्नो धारणा राख्दै नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले कार्यकर्ता माझ पछिल्ला राजनितिक घटनाको बारेमा बुझाउन जरुर रहेको बताए । उनले अहिले कम्युनिष्टको दोहोरो चरित्रका कारण एमसिसीको बारेमा जनताले नबुझदा काँग्रेसलाई धेरै दोषारोपण आउने गरेका कारण यसको बारेमा बुझाउनका लागि गाउँ गाउँ टोल टोल सम्म काँग्रेसले कार्यक्रम तय गरेको बताए । शर्माले अबको केही दिनमा हरेक टोल टोलमा पुगेर काँग्रेसले आफ्ना धारणा प्रष्ट पार्ने समेत जानकारी दिए । 
    कार्यक्रममा जैमिनी नगरपालिका नगरप्रमुख इन्द्रराज पौडेल, नेपाली काँग्रेस बागलुङ क्षेत्र नंं. १ का सभापती चण्डीप्रसाद शर्मा पौडेल, महाधिवेशन प्रतिनिधि नारायण शर्मा पौडेल, जैमिनी नगरपालिकाका नगर सभापति प्रेम प्रसाद सापकोटा, नेविसंघ बागलुङका सचिव श्रीकृष्ण पौडेल, नेपाल शिक्षक संघ बागलुङका सचिव तथा प्रदेश महाधिवेशन प्रतिनिधि लक्ष्मीकान्त पौडेल ‘राजेन्द्र’  प्रदेश महाधिवेशन प्रतिनिधि, सुमन भुषाल प्रेम सापकोटा, लगायतले काँग्रेसका कार्यकर्तालाई कसरी संगठिन गर्ने त्यसका बारेमा पार्टी तहबाटै योजना बनाउनुपर्ने धारणा राखेका थिए । क्षेत्रीय समितिले आउँदो १९ गतेका दिन कुश्मिसेरामा यस क्षेत्रका सवै युवा तथा काँग्रेस कार्यकर्ता र नेताहरुलाई आमन्त्रण गरेको छ । 

प्रतिक्रिया