बागलुङ -वर्षा र गर्मि बढे सँगै जिल्लामा डेंगुका विरामी फेला पर्न थालेका छ । विशेष त तराई क्षेत्रमा यसको बढ्दो प्रकोप देखिने भएता पनि पहाडी क्षेत्रमा पनि यसको संक्रमण फैलिँदै गएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको संक्रमण बागलुङमा दुई जनामा भेटिएको छ ।
शनिबार र आईतबार धौलागिरी अस्पतालमा उपचार गर्न आएको एक जना महिला र एक पुरुषमा लक्षण देखिए पछि परिक्षण गर्दा डेंगु भेटिएको अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिए । संक्रमित दुई जना बागलुङ नगरपालिका–७ र वडा नं. ९ तित्याङका रहेका छन । दुवै जनालाई अस्पतालमा भर्ना गरी उपचार गरिरहेको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा. पोखरेलले बताए ।
उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाईमा ध्यान दिनुपर्ने पोखरेलले बताए । डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले छिट्टै ‘लार्भाको खोजी र नष्ट गर्ने अभियान’ थाल्ने तयारीमा रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक अधिकृत देवप्रकाश घिमिरेले बताए । घिमिरेका अनुसार बागलुङ नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा संक्रमितका घरपरिवारलाई पनि यसको परिक्षण गरिने छ । ‘जिल्लामै दुई जनामा एकै साथ देखिनु यो सामान्य हैन घिमिरेले भने,–यसको नियन्त्रणका लागि सवै सरोकारवालाहरुले चासो देखाउनुपर्दछ । संक्रमित विरामीहरु अस्पतालमा रहेको हुँदा पहिले अस्पताल वरीपरिको सरसफाईलाई ध्यान दिउँ अस्पतालमा रहेका विरामीहरु लामखुट्टेको टोकाईबाट कसरी जोगिने त्यो सोचौ ।’
यो भाइरसबाट सर्ने रोग भएको हुँदा यसको उपचार पूर्वसावधानी नै महत्वपूर्ण हुने हुँदा सवैले समाधान अपनाउन जरुरी रहेको घिमिरेले बताए । डेंगु रोग सर्नुका कारण, यसका लक्षण तथा यसबाट बच्न अपनाउन सकिने उपायबारेमा नगरवासीलाई यस अघि नै सचेतना गराए पनि पुन ग्रामिण भेगमा देखिएका कारण हरेक वडा तहमा यसका सचेतनाका कार्यक्रम संचालन गरिने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले बताए ।
नगरपालिकाले चेतनामूलक कार्यक्रमसँगै डेंगु नियन्त्रणका लागि यसका बासस्थान नष्ट गर्ने तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाउने उनले बताए । डेंगु ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने स्वास्थ्य शाखा प्रमुख खनाले बताउँछन ।
के हो डेंगु ?
एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।
एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।
डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।
डेंगु भएको कसरी थाहा पाउने ?
चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।
टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।
डेंगु लाग्दा देखिने लक्षण
असाध्यै टाउको दुख्ने , आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्न, ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने शरीरमा विमिरा आउने वाकवाकी लाग्ने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने र रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।
कसरी गरिन्छ उपचार ?
सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ ।
डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीको लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्थासमेत हुन जान्छ ।
क्लासिक डेंगु आफैं निको हुन्छ । तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुनसक्छ ।
डेंगु प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुसी आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन ।
डेंगु ज्वरोका बिरामीहरुलाई रहत प्रदान गर्न उपचार गरिन्छ । खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा यो संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ ।
बच्ने उपाय
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।