बागलुङ । नेपाल प्रेस युनियन बागलुङ शाखाले नेपाल पत्रकार महासंघ बागलुङ शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ बागलुङ शाखाका निर्वाचित अध्यक्ष नरेश कंडेललाई महासंघ केन्द्रीय समितिले कुनै समन्वय नगरी र जिल्लाको यर्थात नबुझि पत्रकार महासंघको विधान विपरित गरेको कार्यको विरोध गर्दै तालाबन्दी गरेको हो । युनियनले महासंघको कार्यालयमा एक विज्ञप्ती टाँस गरी तालाबन्दी गरेको छ । युनियनले पत्रकार महासंघ केन्द्रीय कार्यालयले विधान विपरित गत जेठ २१ गते उपाध्यक्षलाई कार्यबहाकको जिम्मेवारी दिएको प्रति ध्याकर्षण गराउँदै तालाबन्दी गरेको प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तले बताए ।
विधानमा जिल्ला शाखामा कार्यबहाक दिने जिम्मेवारी स्वयं शाखा अध्यक्षमा नै निहित हुन्छ यस्तो अवस्थामा केन्द्रले अधिकार मिति गरिएको निर्णयले विवाद उत्पन्न हुँदै आएको छ । यसको विरोध स्वरुप युनियन बागलुङले तालाबन्दी गरेको हो विज्ञप्तीमा उल्लेख गरिएको छ । युनियन बागलुङले यो विषयमा महासंघको केन्द्र र प्रदेश समितिमा लिखित र मौखिक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताएको छ ।
नेपाल पत्रकार महासंघको विधान विपरित दिएको कार्यबहाक जिम्मेवारी फिर्ता लिन, किर्ते निर्णय गरेर केन्द्रलाई पत्रचार गर्नेलाई कारबाही गर्न र पत्रकार महासंघलाई विधान अनुसार संचालन गर्न युनियनले माग गरेको छ । यस्ता समस्याको समाधान र निकासका निम्ती ताला लगाउन बाध्य भएको अध्यक्ष पन्तले बताए । महासंघले विधान विपरितका कार्य तत्काल नसच्चाएमा थप आन्दोलन गर्न बाध्यहुने युनियनले बताएको छ । विज्ञप्तीमा पत्रकार महासंघले निर्धारण गरेको कार्यविधि अनुसार सदस्यता शुद्धिकरण गरी महासंघलाई पेशागत रुपमा मर्यादित संस्थाको रुपमा विकास गर्न युनियन सदैव तयार रहेको बताईएको छ । युनियन तयार हुँदा पनि पछिल्लो समयमा बागलुङ शाखामा उत्पन्न विवादहरुको निरुपण नगरी शुद्धिकरणको नाममा मनोमानि ढंगबाट गरिएको निर्णय युनियनलाई मान्य नहुने बताईएको छ । युनियनको उपस्थिति विना कुनै विवाद बल्झाउने निर्णय भए थप प्रतिरोध गर्ने जनाईएको छ । जिल्लामा अध्यक्ष हुँदा हुँदै केन्द्रीय कार्यसमितिले उपाध्यक्षलाई कार्यबहाकको जिम्मेवारी दिए पश्चात यो विवाद सिर्जना भएको हो ।