बागलुङ - लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोग संक्रमणको जोखिम बढेपछि बागलुङमा यसको रोकथामका लागि अभियान सञ्चालन गरिने भएको छ । जिल्लाका यसको संक्रमण भएका विरामीहरु दैनिक रुपमा बढ्दै जाँदा जिल्लाका सवै स्थानिय तहमा ‘खोज र नष्ट गर’अभियान संचालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा आईतबार बसेको सरोकारवालाको बैठकले आउँदो बुधबार भदौ ५ गते विहान सवै क्षेत्रमा ‘खोज र नष्ट गर’अभियान संचालन गरिने बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
बरालका अनुसार लामखुट्टेको बासस्थानको रुपमा रहेका सवै क्षेत्र र पानी जम्ने स्थानको खोजी—खोजी नष्ट गर्ने अभियान संचालन गरिने छ । डेंगुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै जिल्लाको बागलुङ नगरपालिका सँगै अन्य स्थानिय तहले पनि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान संचालन गर्ने भएका हुन ।
बागलुङ नगरपालिकाले पनि सदरमुकाम क्षेत्रमा बाक्लो बस्ती रहेको र डेंगुको संक्रमण बढि फैलिने संभावना भएको क्षेत्रमा लामखुट्ट्ेको खोज र नष्ट गर अभियान संचालन गर्ने तयारी थालेको छ । नगरपालिकाको सदरमुकाम क्षेत्रका सवै वडामा समिति नै गठन गरी स्थानिय टोलसुधार समिति, विभिन्न संघसंस्था सँग समन्वय गरी यो अभियान संचालन गर्ने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जनाकारी दिए ।
नगरपालिकाले डेंगुका बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण गरेर सचेतना फैलाउने काम निरन्तर गर्दै आएको छ । भदौ ५ गते बुधबार विहान बजार क्षेत्रका सवै क्षेत्रमा सरसफाई अभियान संचालन गर्ने खनालले बताए । ‘डेंगु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्रायः विहान र साँझाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ,’ खनालले भने । बजार क्षेत्रमा बाक्लो बस्ती भएको हुँदा संक्रमण छिटो फैलिन सक्छ त्यसैले सवैले सरसफाईमा ध्यान दिनुपर्ने खनाल बताउँछन । नगरपालिकाले प्रत्येक दिन घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
स्वच्छ र सफा राख्ने टोलविकास समितिलाई नगरपालिकाले पुरस्कृत गर्ने
यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, संघसंस्था, टोलविकास समितिलाई परिचालन गरिनेछ । नगरपालिकाले सफा र स्वच्छ राख्ने टोलिविकास समितिलाई पुरस्कृत समेत गर्ने नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । ‘हाम्रो घरवरीपरि हामी आफै सफा र स्वच्छ राख्नुपर्छ । डेंगु मात्र हैन अन्य रोगबाट पनि बच्च सरसफाईले धेरै मद्दत पु¥याउँछ उपप्रमुख खड्काले भने—‘वर्षा याममा पानी जम्ने खाल्टा खुल्टामा लामखुट्टेले फुल पार्ने हुँदा सरसफाईलाई ध्यान दिन जरुरी छ । यो रोग लागेपछि हुने समस्या झेल्न भन्दा संक्रमण हुन नै नदिनु राम्रो उपाय हो । उनले सवै नगरवासीहरुलाई आफ्नो टोल छिमेकमा सरसफाई राखी लामखुट्टेको टोकाईबाट बची डेंगु संक्रमणबाट जोगिनका लागि आग्रह गरेका छ ।
साउन महिनामा ६४ जनामा डेंगु संक्रमण
देशभर फैलिरहेको डेंगुको प्रकोप बागलुङमा पनि बढ्दै गएको छ । जिल्लामा साउन महिनामा मात्र ६४ जनामा डेगु संक्रमण भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार हाल सम्म सवै भन्दा बढि जिल्लाको गलकोट नगरपालिकामा ४६ जनमा डेंगुको संक्रमण देखिएको छ । त्यसैगरी बागलुङ नगरपालिकामा ७ जना, जैमिनी नगरपालिकामा ३ जना, ताराखेला गाउँपालिकामा १ जना, बडिगाड गाउँपालिकमा १ जना, ढोरपाटन नगरपालिकामा २ जना र अन्य क्षेत्रबाट आएका ४ जना रहेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले जानकारी दिईन । जिल्लामा ५६ जनामा स्क्रब टाईफसको संक्रमण समेत भेटिएको छ । डेंगुको संक्रमणपछि विरामीहरु अस्पतालमा भर्ना भएर उपचार गराईरहेको र केही निको भै घर फर्किएका छन ।
लामखुट्टेको टोकाइबाट डेंगु हुने भएकाले त्यसबाट जोगिन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । डेंगुको भाइरसबाट संक्रमणित लामखुट्टेको टोकाइले यो रोग एक जनाबाट अर्कोमा सर्छ । पछिल्लो समय विभिन्न जिल्लाका प्रमुख सहरमा डेंगुका बिरामी बढ्दो क्रममा रहेका रहेको स्वास्थ कार्यालयका निमित्त कार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।
एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण हुन् ।