बागलुङ : पछिल्लो समय सरकारी कर्मचारीहरु आफ्नो काम, कर्तव्य र पदीय जिम्मेवारीलाई भुलेर राजनीतिक दलको झण्डा बोकेर हिँड्न थालेका छन् । सरकारको तलब खाएर पार्टीको झण्डा बोकेर खुलेआम हिँड्ने कर्मचारीलाई कुनै पनि निकायले कारवाहिको दायरामा ल्याउन सकेको छैन । राजनीतिक दलका नेताहरुको संरक्षणमै माथिल्लो ओहदाकै जिम्मेवार कर्मचारी कामनै छोडेर पार्टीको सभा,सम्मेलनमा सहभागी हुने र पार्टीको जिम्मेवारी पदमा समेत बस्ने गरेका छन् । अहिले नेकपा एमालेको देशभर जिल्ला अधिवेशन चलिरहेको छ । बागलुङमा पनि पौष २३ गतेबाट नवौँ जिल्ला अधिवेशन जारी छ । नेता कार्यकर्ताहरुले विभिन्न पदमा आकंक्षा व्यक्त गरेका छन्, उम्मेदवारी दिएका छन् । आकांक्षा व्यक्त गर्ने र उम्मेदवारी दिनेमा नेता कार्यकर्ता मात्रै छैनन्, सरकारी कर्मचारीहरु पनि रहेका छन् । जसमा ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक घनश्याम चालिसे पनि रहेका छन् ।
चालिसेले जिल्ला कमिटि सदस्यमा उम्मेदवारी दिएका छन् । चालिसेले आफूले कुनै पनि पदमा उम्मेदवारी नदिएको जिकिर गर्छन् । तर उनी आफै खुल्ला सदस्यमा भोट माग्न अपिल गर्दै पोस्टर नै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । अझ चकित कुरा त के भने आफू शर्मा भएको अरु कुनै चालिसेले उम्मेदवारी दिएको भन्दै हास्यास्पद जवाफ दिदैँ फोन काट्छन् । चालिसेले पहिलो पटक फोन उठाए पनि जवाफ दिन मानेनन् तर
दोस्रो पटक आफू स्वास्थ्यको कार्यक्रमका लागि बागलुङमा आएको र बेस्त भएको भन्दै पुरै जवाफ दिन मानेनन् । ‘मैले उम्मेदवारी दिएको छैन, म स्वास्थ्यको कार्यक्रमका लागि बागलुङ आछु, म बेस्त छु’ चालिसेले भने ‘म शर्मा हो चालेसे नाम गरेको अरु कसैले उम्मेदवारी दिए होला ।’ ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले सरकारी कर्मचारीले राजनीतिक दलको सदस्यता लिन नपाइने भन्दै त्यस्तो कार्यमा
संलग्न भएका कर्मचारीलाई कारवाही गर्नु पर्ने बताए । कुनै पनि सरकारी कर्मचारीले कुनै पनि पार्टीको सदस्यता लिन नपाउने स्पष्ट प्रावधान छ, यदी त्यस्तो गरेको भए कारवाही हुनु पर्छ, कानुनी रुपमा त्यस्तो गर्न पाइँदैन’ भट्टराईले भने । सहायक प्र जिअ गणेशप्रसाद पौडेलले सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दलकोसदस्यता लिन नपाइने निजामति सेवा ऐनमा स्पष्ट पारेको भन्दै त्यस्ता कर्मचारीलाई विभागीय कारवाही हुने बताए । baglungpost बाट