बागलुङ- बागलुङ क्षेत्र नं. १ का पाँच दलिय गठबन्धनका साझा उम्मेदवार चित्रबहादुर केसी र प्रदेश सभा (२) उम्मेदवार डिल्लीराम सुवेदीको चुनावी अभियान जैमिनीमा केन्द्रीत भएको छ । केसी र सुवेदी शुक्रबार पैयुथन्थाप र शनिबार राङखानीमा चुनावी अभियान र घरदैलोलाई तिब्र बनाएका छन । प्रदेश सभा क्षेत्र (१) मा आफ्नो अभियानलाई सकाएर प्रतिनिधि सभाका उम्मेदवार केसी प्रदेश (२)मा केन्द्रीत भएका छन । सुवेदीले भने आफ्नो क्षेत्रका सवै वडामा एक पटक पुगिसकेका छन भने पुन प्रतिनिधि सभाका उम्मेदवार केसीसँगै चुनावी अभियानमा रहेका छन ।
चुनावी कार्यक्रममा मतदाता समक्ष पुग्दा केसीले प्रतिगमनको विरुद्धमा अहिलेको पाँच दलिय गठबन्धन भएको बताएका छन । उनले दुई तिहाईको बहुमत हुँदा संसद विघटन गर्ने दललाई अहिले जिताएर मुलुकको हित नहनुे हुँदा गठबन्धनका उम्मेदवारलाई मतदान गर्नका निम्ती आग्रह गरेका छन । केसी सँगै रहेका प्रदेश सभाका उम्मेदवार काँग्रेसका युवा नेता डिल्लीराम सुवेदीले बागलुङको विकास र समृद्धिका निम्ती पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।
उनले यस क्षेत्रमा आफुले काम गर्ने हुटहुटी बोकेर जनताको माझ आएको हुँदा यहाँको विकासका निम्ती पनि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने दाबी गरे । अभियानमा नेकपा माओबादीका केन्द्रीय सदस्य कृष्ण केसी, लालबहादुर परियार काँग्रेस नेता किरणराज पौडेल, राजमोका नेता राजेन्द्र ढुंगाना, कृष्ण अधिकारी र समाजबादीका विभिन्न तहका नेताहरु रहेका छन । गाउँघरमा कामको चटारो भएका कारण उम्मेदवारहरु घरमै पुगेर मतदाता भेटघाटलाई तिब्रता बनाएका छन । बागलुङ क्षेत्र नं. १ मा केसी संग एमालेका सुर्य पाठक मुख्य प्रतिस्पर्धी रहेका छन भने सुवेदी सँग एमालेका नवराज पौडेल रहेका छन । प्रदेश सभा (१) मा काँग्रेसका दिपेन्द्रबहादुर थापा सँग एमालेका हिरा केसी प्रतिस्पर्धी रहेका छन ।