चिल्ड्रेन लाईफलाई प्रेस चौतारी कपको उपाधी

  • माघ २३, २०८०

बागलुङ- प्रेस चौतारी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । सोमबार भएको उपाधिको अन्तिम खेलमा आमर आदर्श माध्यमिक विद्यालयले २—० गोल अन्तरले पछि पार्दै चिल्ड्रेन लाईफले उपाधि चुमेको हो । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको सन्दर्भ पारेर बागलुङ जिल्ला शाखाले आयोजना गरेको फुटबल प्रतियोगितामा चिल्ड्रेन लाईफलाई उपाधि दिलाउन लोकमान थापामगर र बरदान थापामगरले एक एक गोलको योगदान गरे । 
पहिलो हाफको १९ औं मिनेटमा डि बक्स भित्र पाएको पासलाई अगाडि बढाउँदै जर्सी नम्बर १४ का खेलाडी लोकमान थापामगरले पहिलो गोल गरे । उनलाई अमर आदर्शका दुई डिफेन्डरले रोक्ने प्रयास गरे पनि गोल किपरसंग आमने सामने हुँदै सहज रुपमा बललाई जाली चुमाउन सफल भए । पहिलो हाफमा बल पोजिसन राम्रो रहेको अमर आदर्श पहिलो गोल खाएपछि केही दबाबमा देखियो । दोस्रो गोल चिल्ड्रेन लाईफका लागि खेलको ३५ औं मिनेटमा जर्सी नम्बर ७ का खेलाडी बरदान थापाले गरे । 
थापाले दायाँ कर्नरबाट आएको कर्नर किकलाई हेडर मार्फत उत्कृष्ट गोल गर्न सफल भएका थिए । चिल्ड्रेन लाईफले दोस्रो हाफमा पाएको केही मौका सदुपयोग गर्न नसकेपछि खेलको नजिता २—० हुन पुग्यो । पहिलो हाफको सुरुमै आक्रामक देखिएको चिल्ड्रेन लाईफलाई त्यसपछि केही समय अमर आदर्शले दबाबमा राख्यो । अमर आदर्शले लामो समयसम्म चिल्ड्रेन लाईफको एरियामा बल पोजिसन लिए पनि गोलका लागि मौका बनाउन नसक्दा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । फाईनल खेलको म्यान अफ द म्याच चिल्ड्रेन लाईफका लोकमान थापामगर भए । 
फाईनल जितेको चिल्ड्रेन लाईफले उपाधिसंगै नगद ५० हजार ट्रफि र मेडल हात पारेको छ । उपविजेता बनेको अमर आदर्शले नगद २५ हजार ट्रफि र मेडल प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चिल्ड्रेन लाइफका क्याप्टेन विविध थापा भए । प्रतियोगिताका सर्वाधिक गोलकर्ता चिल्ड्रेन लाईफकै बरदान थापा, उत्कृट मिड फिल्डर चिल्ड्रेन लाईफका थमन थापा र उत्कृष्ट डिफेन्डर अमर आदर्शका सरोज कार्की भए ।
 प्रतियोगितामा उत्कृष्ट किपर  अमर आदर्शका आशिष रोका मगर, प्रतियोगिताको अनुसासिन टिम सिगाना माध्यमिक विद्यालय हुँदा उत्कृष्ट कोच चिल्ड्रेन लाईफका सौगात खत्री चुनिएको प्रेस चौतारी नेपाल बागलुङका सचिव अर्जनु कार्कीले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नेकपा एमाले स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मेडल ट्रफि र नगद पुरस्कार वितरण गरे । 
 

प्रतिक्रिया