बागलुङ- कालिगण्डकी करिडोर बागलुङ खण्डको सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको यातायात ठप्प भएको छ भने सर्वसाधारणले सास्ती खेप्नु परेको छ । बागलुङ नगरपालिका—१० भकुण्डे दब्ल्याङको पहिरोका कारण कालिगण्डकी करिडोर र मालढुंगा कुश्मिसेरा सडक खण्ड पनि अवरुद्ध हुँदा १० दिन देखी दक्षिण बागलुङको सडक सञ्जाल टुटेको छ । दब्ल्याङको पहिरो अहिले दक्षिण बागलुङको बाधक बनेको छ ।
असार २१ गते शुक्रबार देखीको वर्षाका कारण सडक माथिबाट आएको पहिरोले अवरुद्ध सडक असार २५ गते साँझ केही समय खुलेपनि पुन असार २६ गतेको भारी वर्षाका कारण सडकको भाग पुर्णरुपमा बगाएको छ । बगाएको सडक नियमित वर्षाका कारण पुनःनिर्माणमा समस्या भएपछि आईतबार साँझ सम्म सडक सुचारु हुन सकेको छैन । दब्ल्याङको पहिरोले सडकको भाग गहिराएर बगाएपछि यसको पुनःनिर्माण गरेर यातायात संचालनका लागि अझै एक दुई दिन लाग्ने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सडक मर्मत गरे यातायात संचालन गरेको झण्डै पाँच घण्टा पछि आएको वर्षाका कारण पुन सडक बगाए पछि हाल यसको मर्मतको कार्यका लागि प्रयास गरिएको बताए । उनले कारिडोरको निर्माणको जिम्मा लिएको निर्माण कम्पनी र बागलुङ नगरपालिकासँगको समन्वयमा पुन सडक सुचारु गर्ने प्रयास गरिएपनि पनि वर्षाले गर्दा हालसम्म संचालनमा ल्याउन नसकेको बताए । ‘पहिरोले सडकको भागको नाम निसानै छैन । केही दिन पहिले निर्माण गरेको ग्याबीन जाली पनि बगाएको छ नगरप्रमुख श्रेष्ठले भने,—‘एकतर्फि भएपनि सडक सञ्चालनको लागि कोशिस गरेका छौं । वर्षा निरन्तर भै रहेको छ दिनभरी काम गर्ने साँझ पानीले पुन बगाउने डर छ । अबका एक दुईदिनमा त सडक संचालन गर्नेछौं, वर्षा नरोकिँदा सम्म यस्तै समस्या झेलिरहनुपर्ने बाध्यता रहेको छ ।”
कोरिडोर अवरुद्ध भए सँगै दक्षिण बागलुङका आम सर्वसाधारणले दुःख खेप्नुपरेको छ । नियमित यातायात संचालन नहुँदा किसानले उत्पादन गरेको दुधलाई सहज रुपमा बजार ल्याउन सकिएको छैन भने तरकारी लगाएका वस्तुहरु पनि बजार पठाउन कठिनाई भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । शर्माका अनुसार बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक ४०० लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनु पर्ने अवस्था रहेको छ । करिडोर अवरुद्ध भए सँगै दक्षिण जैमिनी, बरेङका स्थानियले सकस बेहोर्नुपरेको छ नगरउपप्रमुख शर्माले भने,—‘ अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनु पर्ने बाध्यता रहेको छ । दुध र तरकारी पनि पुलबाट बोकेर कुश्मा तारेर बजार पठाउनुपर्ने बाध्यता रहेको छ । यसको समाधानको लागि हामीले प्रयास थालेका छौं । शर्माका अनुसार करिडोर खण्डकै कालाखोला माथिको फुर्सेखोलामा पनि सडक बगाएको हुँदा त्यो पनि तत्काल मर्मत गर्नका लागि कठिनाई देखिएको छ । दब्ल्याङको पहिरोले करिडोरको १ ठाउँ र मालढुंगा कुश्मिसेरा सडकको दुई ठाउँमा अवरुद्ध बनाएको छ । यसका कारण जैमिनी र बलेवा क्षेत्रका नागरिकहरु पैदल हिँडेर, पर्वतको कुश्मा वा मालढुंगा आउनुपर्ने बाध्यता रहेको छ । यसका साथै दक्षिण बागलुङका प्रसिद्ध भैरवस्थान मन्दिर जाने सडक पनि अवरुद्ध छ भने पैयुँपाटा अमलाचौर जाने ग्रामिण सडक पनि अवरुद्ध रहेका छन । वर्षाकै कारण बागलुङ नगरपालिका—१ मालढु्रगा खुर्दुकेमा रहेको ड्याम्पिङ साईड नजिकै काठेखोलाले सडक कटना गर्दा ड्याम्पिङ साईडको पर्खाल भत्किएको छ । यसले फोहोर संकलन केन्द्रनै जोखिममा परेको छ ।