बागलुङको ढोरपाटन नगरपालिकामा बाख्रा चराउन गएका एक किशोर मृत अवस्थामा फेला परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–९ जुरे घर भई हाल वडा नं. ५ साहुथोकस्थित मामाघरमा बस्दै आएका १५ वर्षीय अरुण घर्ती मगरको ढुङ्गाले च्यापिएर मृत्यु भएको हो ।
आज बिहान करिब ७ बजे बाख्रा चराउन गएका र लामो समयसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा मामाघरदेखि करिब ३०० मिटर उत्तरतर्फ रहेको धो खोलाको किनारमा टाउको तथा ढाडको भाग ढुङ्गाले च्यापिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे मृतकका मामा टेकबहादुर पुनले दिउँसो इलाका प्रहरी कार्यालय बुर्तिबाङमा जानकारी गराएपछि प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थलतर्फ खटिएको छ ।