बागलुङ- बागलुङ नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी समुदायस्तरमा पुगेर स्वास्थ्य परिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ । आईतबार अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बागलुङ नगरपालिका ३ नारायणचोकबाट स्वास्थ्य परिक्षण सेवाको शुभारम्भ गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले ज्येष्ठ नागरिक समाजको धरोहर भएका कारण उहाँहरुलाई हामीले आदर्शको व्यवहारले हेर्नुपर्ने बताए । श्रेष्ठले हाम्रो समाजमा ज्येष्ठ नागरिकलाई मार्गनिर्देशनको रुपमा भन्दा पनि समस्याका रुपमा हेर्ने प्रवृत्तिले गर्दा उहाँहरुको अपमान हुने गरेकोले यसको अन्त्य हुन जरुरी रहेको बताए । उनले ज्येष्ठ नागरिकसँग ईतिहास रहेको हुँदा उनिहरुको मार्गनिर्दशन अनुसार हामी चल्न सक्यौं भने भोलीको पुस्ताले पनि यही सिक्ने बताए । बागलुङ नगरपालिकाले नगरभित्रका सवै ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाको बारेमा परिक्षण गर्नका निम्ती १४ वटै वडाका विभिन्न टोलमा स्वास्थ्य परिक्षण शिविर संचालन गर्ने श्रेष्ठले जानकारी दिए ।
आफ्नै घर आगनमा ब्लड प्रेसर, सुगर लगायतका जाँच गर्न पाउँदा बृद्ध बृद्धालाई सहज भएको ९७ बर्षिय मनिप्रसाद पुनले बताए । पुनका अनुसार बृद्धबृद्धालाई सामान्य स्वास्थ्य जाँचका निम्ती पनि अस्पतालमा नै पुगेर लाईनमा बसेर स्वास्थ्य जाँच गर्नुपर्ने कठिनाई रहेकोमा शिविरले थप फाईदा पुगेको बताए ।
हरेक गाउँ टोल–टोलमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर नगरप्रमुख श्रेष्ठको पहिलो प्राथमिकतामा रहेको स्वास्थ्य शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए । खनालका अनुसार शिविरमा सामान्य स्वास्थ्य जाँच, आँखा जाँच लगायतका सेवा प्रदान गरिने छ ।
आईबार बागलुङ नगरपालिका–३ बाट सुरु भएको शिविर क्रमश सवै वडामा संचालन हुने खनालको भनाई ।
शिविरमा ८२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका थिए । जसमा ६६ जनाले आँखाको जाँच पनि गरिएका थियो भने १७ जनालाई चस्मा पनि वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले, आँखाको जाँच, सामान्य उपचार तथा आवश्यक औषधी वितरण गरेको थियो ।
शिविरमा बागलुङ नगर अस्पतालमा मेडिकल अधिकृत डा. गरिमा खनाल, जनस्वास्थ्य अधिकृत रामप्रसाद खनाल, जनस्वास्थ्य निरिक्षक लक्ष्मण ढकाल, सिनियर अनमी माधवी शर्मा, सिनियर अहेब विष्णु प्रसाद पौडेल, आँखा उपचार केन्द्र उपल्लाचौरका स्वास्थ्यकर्मी लगायतले ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेका थिए ।