सञ्चारकर्मीहरूका लागि स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सञ्चार तथा पैरवी कार्यक्रम

  • जेठ २१, २०८३

बागलुङ,-  गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा बागलुङका क्रियाशील सञ्चारकर्मीहरूका लागि स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञहरूले स्वस्थ जीवनशैली, नसर्ने रोगको रोकथाम, स्वास्थ्य सेवाको विस्तार तथा जनचेतना अभिवृद्धिमा सञ्चारकर्मीहरूको भूमिकाबारे जानकारी गराएका थिए।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशााखा प्रमुख डा. रमेशकुमार केसीले स्वस्थ जीवनशैली, नसर्ने रोग तथा तिनको रोकथामका प्रभावकारी उपायबारे जानकारी गराउनुका साथै मनोरोगका बारेमा जानकारी गराएका थिए । केसीले सहभागी पत्रकारलाई मेरिटेसनेका बारेमा जानकारी समेत गराएका थिए ।  धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले अस्पातालले प्रदान गरेका सेवाको बारेमा जानकरी गराएका थिए । उनले हिजोका दिनमा रिफरल सेन्टरको रुपमा चिनिएको अस्पताल अहिले विशिष्टिकृत सेवा प्रदान गर्दै आएको बताए । तिवारीले अस्पतालमा विभिन्न विशेषज्ञ सेवा रहेको र आम सर्वसाधारणलाई सहजढंगले सेवा लिएको जिकिर गरे । उनका अनुसार अस्पतालमा स्त्री तथा प्रसूति सेवा, सर्पदंश उपचार, नवजात शिशु सघन उपचार कक्ष ९एनआईसीयू० लगायतका सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्। साथै सिटी स्क्यानदेखि दूरबिन प्रविधिमार्फत शल्यक्रियासम्मका आधुनिक सेवा उपलब्ध गराइँदै आएको उनले जानकारी दिए।

“स्वास्थ्य सेवा विस्तारसँगै स्थानीय नागरिकले सहज, सुलभ र गुणस्तरीय उपचार पाउन थालेका छन्,” उनले भने, “स्वास्थ्य क्षेत्रका उपलब्धि र चुनौती जनस्तरसम्म पुर्‍याउन सञ्चारमाध्यमको सकारात्मक भूमिका अपरिहार्य छ।”

धौलागिरी आयुर्वेद अस्पतालका डा. अभिषेक बगालेले स्वस्थ जीवनशैली नै दीर्घकालीन स्वास्थ्यको आधार भएको उल्लेख गर्दै सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि र सकारात्मक सोचलाई स्वस्थ जीवनका मुख्य आधारस्तम्भका रूपमा प्रस्तुत गरे। उनले पछिल्लो समय अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण मधुमेह, उच्च रक्तचाप, मुटुरोग लगायतका नसर्ने रोगहरू बढ्दै गएको बताए।

“आहार व्यवस्थापन, नियमित व्यायाम तथा योग अभ्यासले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यलाई समेत सुदृढ बनाउँछ,” उनले भने, “स्वास्थ्यसम्बन्धी सही सूचना प्रवाह र जनचेतना विस्तारमा सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ।”


कार्यक्रममा बुर्तिवाङ अस्पतालका प्रमुख डा. अभिनाष पोखरेलले ढोरपाटन क्षेत्रमा देखिएको दादुरा संक्रमण, यसको पहिचान, रोकथाम र उपचार प्रक्रियाबारे जानकारी दिएका थिए। 

स्वास्थ्य प्रवर्द्धन, जनचेतना अभिवृद्धि तथा स्वास्थ्यसम्बन्धी सन्देशलाई प्रभावकारी रूपमा समुदायसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए । 
कार्यक्रमले जिल्लामा क्रियाशिल संचारकर्मीका लागि स्वास्थ्य सम्बन्धी रिर्पोटिङमा थप टेवा पुगेको नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुवास आचार्यले बताए । 

कार्यक्रमले सञ्चारकर्मीहरूलाई स्वास्थ्यसम्बन्धी विषयवस्तुमा थप जानकार र जिम्मेवार बनाउँदै समुदायस्तरमा सही सूचना प्रवाह गर्न प्रेरित गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया