काँग्रेस बागलुङ नगरसभापतिमा कर्ण हमालको उम्मेदवारी घोषणा

  • भदौ ३०, २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा यतिबेला गाउँ नगरपालिकाको अधिवेशनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा १० स्थानिय तहमा कसले नेतृत्व गर्ने भन्ने मा होडबाजी चल्दै गएको छ । यसै क्रममा जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाको सभापतिमा कर्ण बहादुर हमालले उम्मेदवारी घोषणा गरेका छन् । लामो समय शिक्षण पेशामा रहेर सेवानिवृत्त रहेका बागलुङ नगरपालिका—२ का हमालले १४ औं महाधिवेसन अन्तर्गत हुने बागलुङ नगरपालिकाको अधिवेसनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपाली काँग्रेसलाई थप सबल र सशक्त बनाउँदै अगाडि बढाउनका लागि आफुले नगर सभापतिमा उम्मेदवारी दिने तयारी गरेको उनले बताए । ‘नेपाली काँग्रेसलाई बागलुङ नगरभित्र सशक्त बनाउँदै जनताको जनजिविकाका सवालहरुमा जोडेर अगाडि बढाउनका लागि मैले सभापतिको दाबी गरेको हुँ,’ उनले भने,‘अरु साथीहरुले पनि अहिलेसम्म काम गर्नुभएको छ । त्यसलाई अझ धेरै गतिका साथ अगाडि बढाउने मेरो चाहाना हो ।’

बागलुङ नगरको काँग्रेस हाँक्ने आफुसंग स्पष्ट भिजन भएका कारण सभापतिका लागि आफुले अग्रज समकालिन र अनुजहरुसंग आफुलाई सहयोग गर्न आग्रह गरेको उनले बताए । ‘नेपाली काँग्रेसलाई साँच्चिकै वीपीले भनेकै जस्तो पार्टी बनाउनका लागि मैले सबैलाई सहयोग गर्न अपिल गरेको छु,’ उनले भने,‘सबैको सहयोग र साथबाट म नगरसभापति बन्छु र काँग्रेसलाई गतिका साथ अगाडि बढाउँछु भन्ने विश्वास छ ।’

हमाल २०३६ सालमा पञ्चायत विरोधी आन्दोलनबाट नेपाली काँग्रेसतर्फ नजिकिएका थिए । उनी शिक्षण पेशामा आवद्ध हुँदा पनि २०४६ सालको जनआन्दोलन र २०६२÷०६३ सालको जनआन्दोलनमा परिवर्तनको पक्षमा महत्वपूर्ण भूमिका निभाएका थिए । नेपाल शिक्षक संघ बागलुङको संस्थापक सदस्य भएर काम गरेका उनले बागलुङ उद्योग वाणिज्य संघ लगायतका विभीन्न सामाजिक संघ संस्थाहरुमा बसेर सामाजिक काम गर्दै आएका छन् ।

हमाल नेपाल प्रेस युनियन बागलुङ मार्फत सञ्चालित नारायण मानकुमारी उपाध्याय पत्रकारिता पुरस्कारको संरक्षक समेत छन् । १२ औं महाधिवेसनबाट बागलुङ नगरपालिका—२ को वडा सभापतिको जिम्मेवारी कुशलता पूर्वक पूरा गरेका हमालले १४ औं महाविधेसनका लागि नगर सभापतिको जिम्मेवारी सम्हाल्ने निधोका साथ अगाडि बढेका हुन् ।

प्रतिक्रिया