बागलुङ- बागलुङ नगरपालिकाले बजार क्षेत्र र अन्य स्थानमा अव्यवस्थित ढंगले संचालन गरिएका ठेला र पोके व्यवसायलाई हटाउने भएको छ । बजार क्षेत्रका चोक चोकमा राखिएका ठेलाका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई भएको र बजार क्षेत्रका अन्य व्यवसायीको गुनासो आएका कारण ठेला व्यवसायीलाई हटाउने निर्णय गरेको हो । नगरकार्यपालिकाको नवौं बैठकले एक महिनाको समय दिए र बजार क्षेत्रमा तरकारी फलफुल र चनाचटपट लगायतका ठेलामा व्यवसाय गर्ने व्यवसायी बजार भन्दा बाहिर कपडा तथा अन्य सामाग्री लिएर विक्रि वितरण गर्ने पोके व्यवसायीलाई हटाउने निर्णय गरेको हो ।
नगरपालिकाले बजार क्षेत्रमा ठेलामा व्यवसायले गर्दा सटरमा भाडा तिरेर बस्ने व्यवसायलाई मर्का परेको र उनिहरुबाट पनि गुनासो आएका कारण तत्कालै चोक चोकका ठेला हटाउने निर्णय गरेको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए । नगरपालिकाले बजार भन्दा बहिरबाट खरिद गरेर गाउँगाउँमा विक्रि वितरण गरेका पोके व्यवसायीलाई पनि कुनै उचित स्थान खोजेर भाडामा व्यवसाय संचालन गर्न आग्रह गरेको छ । ‘ठेलामा व्यवसाय गर्दा बजार क्षेत्रमा ट्राफिक समस्या बढ्यो । सटर भाडामा लिएर बसेका व्यवसायीको गुनासो पनि आयो । नगरप्रमुख श्रेष्ठले भने,–‘नगर भित्र संचालन भएका कुनै पनि ठेला र पोके व्यवसाय न करको दायारामा छन । न व्यवस्थित ढंगले नै संचालन भएका छन । यो अव्यवस्थित तवरले संचालन गर्न रोक लगाउने भएका छौं ।’
यि व्यवसायी नगरपालिकामा दर्ता भएर संचालन गर्नुपर्ने र करको दायारामा आएर संचालन गर्न चाहने व्यवसायीलाई नगरपालिकाले कुनै उचित स्थानको व्यवस्थापन गर्न पहल गर्ने उनले बताए । बजार क्षेत्रमा चनाचटपट, फलफुल तथा तरकारी लगायतका व्यवसाय गरेर हिड्ने व्यवसायीलाई सटर भाडामा लिएर व्यवसाय संचालन गर्न नगरपालिकाले आग्रह गरेको छ ।
कार्यपालिकाको बैठकले निर्माण सम्पन्न भएको बागलुङ बसपार्क संचालनका निम्ती बागलुङ नगरपालिका –४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीको संयोजकत्वमा बसपार्क संचालन तथा जग्गादाताहरुको व्यवस्थापनको अध्ययनका लागि कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा वडा नं. १, २, ३, ४ र ५ का वडा अध्यक्ष र कार्यपालिका सदस्य ज्योती विष्ट रहेका छन । उनिहरुले वसपार्कका जग्गादाताहरु सँग समन्वय गरी त्यहाँ पुग्ने सडकको मर्मत गरि तत्काल बसपार्क संचालनको काम बढाउने नगरप्रमुख श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले बसपार्क स्थलगत अध्ययन गरी तत्काल संचालन गर्नका लागि आवश्यक कारबाही अगाडी बढाईने बताए । बसपार्क पुग्ने सडक मर्मत गर्नुका साथै विजुली बत्ती व्यवस्थानको काम पनि अगाडी बढेको छ ।
कार्यपालिका बैठकले नगरपालिकामा कार्यरत अस्थायी तथा करारमा कार्यरत कर्मचारीको आन्तरिक व्यवस्थापन र कार्यसम्पादनको मुल्याङ्कनका निम्ती सामाजिक विकास समितिका संयोजक तथा बानपा ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको संयोजकत्वमा कार्यदल निर्माण गरेको छ । समितिको सदस्यमा बानपा १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, बानपा–४ का वडा अध्यक्ष कुमार विक्रम, वानपा १० का वडा अध्यक्ष तिलबहादुर थापा कार्यपालिका सदस्य धनमायाँ शर्मा र सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा रहेका छन । समितिले कर्मचारी व्यवस्थापन र जिम्मेवारी बाँडफाड गर्नुका साथै विभिन्न विषयगत शाखाको व्यवस्थापन गर्ने बताईएको छ ।
बैठकले दशै अगाडी नै सवै वडा तह सम्म पुग्ने सडकलाई मर्मत तथा संभार गर्ने निर्णय गरेको नगरपालिकाका सामाजिक विकास संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए । बलेवा क्षेत्र जोड्ने दब्लाङ्को पहिरो सहित अन्य ग्रामिण सडक मर्मत गर्नुका साथै बागलुङ बजार क्षेत्रमा रहेको सडकका खाल्टा समेत पुर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले विपद व्यवस्थापनका निम्ती संचालन हुने आर्थिक सहायता तथा संस्थागत सहयोग कार्यविधि पारित गरेको छन । प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले पेश गरेको उक्त कार्यविधि सर्वसम्मत पास गरेको हो ।
चाडपर्वकै लक्षित गरी नगरले ग्रामिण भेगका वडाहरुमा नै विभिन्न व्यवसायी सँग समन्वय गरी सुपथ मुल्य पसल संचालन गर्ने निर्णय गरेको गौतमले बताए । आम उपभोक्ताको सहजताका लागि नगरको सहजीक करणमा विभिन्न सहकारी र व्यवारीहरुको साझेदारीमा सुपथ मुल्य पसल संचालन गरिने बताईएको छ ।
कार्यपालिका बैठकले विश्व बैंकको सहयोगमा एनयुजिवाईपि परियोजन मार्फत संचालन हुने नगर क्षेत्र भित्रका चार वटा सडकहरुको निर्माण कार्य र स्तरबृद्धि गर्नेका निम्ती काम अगाडी बढाउने निर्णय गरेको छ । जसका लागि ५५ करोड रुपैयाँ विनियोजन भएकोमा सो रकम पारित गरेको गौतमले जानकारी दिए ।
कार्यपालिका बैठकले भु उपयोग कार्यान्वय समितिमा विषेय विशेषज्ञ समेत मनोनित गरेको छ । नगर प्रमुखको अध्यक्षतामा हुने समितिको विषय विशेषज्ञमा कानुन व्यवसायीको तर्फबाट अधिवक्ता भुमिश्वर गौतम, लेखापढी व्यवसायीको तर्फबाट कल्पना श्रेष्ठ, शिवकला थापा, र रामबहादुर केसी रहेका छन । नगरपालिकाले विगतमा भएका कामको समिक्षा गरे अगामी दिनमा अझै प्रभावकारी कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।