खानेपानीको अभावका कारण विद्यालय जाँदा घरबाटै बोतलमा पानी 

  • पुस १२, २०७८

राजन रेग्मी- जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको समस्या भएको छ । विद्यालयको खानेपानी व्यवस्थापनका लागि बर्सेनी बजेट छुट्टिने गरे पनि पानीको अभाव टर्न नसकेको हो । विद्यालयमा पानी नभएपछि विद्यार्थीहरुले पिउनको लागि त घरबाटै बोत्तलमा पानी ल्याउँछन् । २०३१ सालमा स्थापना भएको यस विद्यालयमा अहिले अध्ययनरत विद्यार्थीहरुले घरबाटै बोत्तलमा हालेर पानी ल्याउँछन् । कहिलेकाही त पानी पिउनको लागि आफूहरु आकुलव्याकुल पर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।
 विद्यालयमा पानी नहुँदा विद्यार्थी तथा शिक्षक सबैलाई सरसफाइ तथा शौचमा समस्या भएको छ । ‘विद्यालयमा पानीको निकै समस्या छ । केही नजिकको साथीहरु हुनुहुन्छ, कोही भने धेरै  टाढाको पनि हुनुहुन्छ । विद्यालयको धारामा पानी नै आउदैन, पानी आयो भने पनि फोहोर हुन्छ ।’ दश कक्षामा अध्ययनरत विद्यार्थी अनुजा सुनार भन्छिन् ‘टाढा टाढाबाट आउँदा थाकिन्छ, कहिलेकाहीँ त आकुलब्याकुल परिन्छ ।’
पानी अभावका कारण पिउनको साथसाथै विद्यार्थीलाई सरसफाइका साथ साथै शौचमा समेत समस्या भएको छ । रजस्वलाको समयमा छात्राहरु विद्यालयमा जानै मान्दैनन् ।  शौचालय प्रयोग गर्नका लागि विद्यार्थीले विद्यालय नजिकका घरबाट पानी माग्ने गरेका विद्यार्थीको गुनासो छ । कक्षा नौमा अध्ययनरत विद्यार्थी विशाल पौडेल भन्छन् ‘हामी विद्यार्थीले घरबाटै पानी ल्याउछौँ, विद्यालयको शौचालयमा पानी नै छैन ।’ विद्यार्थी पौडेल भन्छन् ‘विद्यालयमा दिशा लाग्दा विद्यालय वरपरका घरहरुबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको छ ।’
यस विद्यालयमा पहिले छिमेकी वडा जैदी, राङ्खानी तथा छिमेकी जिल्ला गुल्मीबाट समेत विद्यार्थीहरु आउने गर्दथे । विविध कारण अहिले विद्यालयमा विद्यार्थीको संख्या पनि कम हँुदै गएको छ जसमध्ये पानीको समस्या पनि एक हो । विद्यालयलाई पायक पर्ने स्थानमा मुहान समेत छैन । हाल विद्यालयमा पानी ल्याउने मुहान विद्यालय भन्दा चार किलोमिटर टाढा रहेको छ । बेलाबेला आउने पानी संगै लेदो तथा फोहोर पनि आउने गर्दछ । सो कारण विद्यार्थीले उक्त पानी प्रयोग गर्न सक्दैनन् ।
 विद्यालयमा प्रधानाध्यापक यम शर्माका अनुसार प्रावि तहको लागि एक र माध्यामिक तहको लागि एक धारा रहेको भए पनि विभिन्न समयमा निर्माण भएका बाटोको कारण विद्यालयसम्म पानी आउन नसकेको हो । ‘मुस्किलले एक सय लिटर पानी मात्र विद्यालयमा झर्छ, विद्यार्थीलाई पानी पुराउन नै समस्या भएको छ ।’ प्रधानाध्यापक शर्मा भन्छन् ‘खानेपानीलाई निवेदन लेखेको छु, नगरप्रमुख तथा सरोकारवालासंग सहकार्य गरिरहेको छ ।’ दिगो समाधानको लागि पहल भैरहेको उनले बताए ।  

प्रतिक्रिया