गायिका सिम्रनलाई बागलुङ नगरपालिकाद्धारा नगद सहित सम्मान

  • भदौ ४, २०८०

बागलुङ- सामाजिक सञ्जाल मार्फत भाईरल भएकी गायिका सिम्रन परियारलाई गृह नगर बागलुङ नगरपालिकाले बधाई सम्मानका तथा आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका वडा नं. ६ तिनतले घर भएकी गायिका परियारलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगद ३० हजार रुपैयाँ सहित बधाई तथा सम्मान गरेका छन । नगरपालिकाले गायीका परियारको सांगितिक यात्रा र शैक्षिक यात्रामा उर्जा प्रदान गर्नका निम्ती नगद सहित सम्मान गरेको नगरप्रमुख श्रेष्ठले बताए । 
उनले नगरपालिकाले कला, साहित्य संगित खेलकुद क्षेत्रमा लागेकालाई थप प्रोत्साहनका लागि सम्मान गर्दै आएको बताए । सिम्रनको गीत संगीतको मोह र उनको क्षमतालाई नगरपालिकाले सधै साथ दिने नगरप्रमुख श्रेष्ठको भनाई छ । सिम्रनले बागलुङकै विद्यामन्दिर माध्यामिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयको अध्ययन गर्छिन । पढाईमा पनि अब्बल सिम्रनको पढाइको अतिरिक्त गायन क्षमतालाई उजागर गर्ने वातावरण बनाउन सकेमा भविष्यको उत्कृष्ठ कलाकार बन्न सक्ने क्षमता रहेको नगरप्रमुख श्रेष्ठले बताए । सिम्रनलाई सांगितिक सँगै शैक्षिक क्षेत्रलाई पनि सँगसँगै अगाडी बढाउन नगरप्रमुख श्रेष्ठले सुझाव दिएका थिए । 
नगरपालिकाको सम्मानले आफुमा थप हौसला प्रदान भएको सिम्रनको भनाई छ । उनले सवै अग्रजहरुबाट पाएको सम्मानले सांगितिक सँगै शैक्षिक क्षेत्रमा समेत थप उर्जा प्रदान भएको बताईन । १८ बर्षिया सिम्रन सानैदेखि गीत गुनगुनाउने गर्थिन मेचिकाली खबरका भोजराज थापाले लिएको युट्युब अन्तवार्तापछि उनी भाइरल भएकी थिइन् । दुई साता अगाडी सामाजिक सञ्जालमा भाइरल भए पश्चात उनी गित गाउनका लागि काठमाण्डौ गएकी थिईन । उनले गाएका ‘मुटुमै घाउ छ...’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत युट्युबमा सार्वजनिक भइसकेका छन् । हाल सम्म १५ वटा गित रेकर्ड गरिसकेको सिम्रन बताउँछिन ।  सामाजिक सञ्जालमा भाइरल भएपछि गायनमा आएकी उनकोे स्वरलाई धेरै दर्शक श्रोताले  रुचाएका छन् । एकाएक चर्चामा आएकी सिम्रनका आधा भन्दा धेरै गीत सार्वजनिक हुन बाँकी छन् ।
 

प्रतिक्रिया