काठेखोलाको पहिलो निर्णयः विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, कृषकलाई उत्पादनका आधारमा अनुदान

  • जेठ ११, २०७९

जिल्लाको काठेखोला गाउँपालिकाका जनप्रतिनिधिले मंगलबार पदभार ग्रहण गरेका छन् । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन् । गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा तिलकले गाउँपालिकामा पदभार ग्रह गरे । पदभार ग्रहणपछि गाउँपालिका अध्यक्ष थापाले उपयुक्त ठाउँमा गाउँपालिकाको आफ्नै प्रशासकिय भवन निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । गाउँपालिकाको प्रशासनिक कार्यका लागि आफ्नै भवन नहुँदा सेवा प्रवाह र सेवाग्राहीलाई समेत समस्या भएकोले भवन निर्माणलाई पहिलो प्राथमिकता थिएको अध्यक्ष थापाले बताए । 
गाउँपालिकाले पालिका भित्रका विपन्न एक हजार घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने समेत निर्णय गरेको छ । आर्थिक रुपमा विपन्न नभएका नागरिकहरुलाई सह स्वास्थ्य सुविधाको पहुँचमा पु¥याउनका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले गर्नेछ । काठेखोलाले उच्च शिक्षा अध्ययन गर्दा काठेखोला गाउँपालिका भित्रको कुनै पनि विषयमा सोधपत्र तयार गर्ने सोधार्थीलाई प्रोत्साहन गर्न कोष बनाउने समेत निर्णय गरेको छ । सोधपत्रमा काठेखोलाको विषयमा अध्ययन गर्दा त्यसले काठेखोलाको अवस्था झल्काउने र त्यसले योजना तथा कार्यक्रम निर्माणमा पनि सघाउने गाउँपालिकाको विश्वास छ ।
 बालशिक्षाका सहजकर्ता र विद्यालय सहयोगीको सुविधा कम्तीमा १५ हजार पु¥याउने समेत गाउँपालिकाले निर्णय गरेको छ । सरकारले दिने रकममा अरु थप गरी न्यूनतम १५ पु¥याउने भएको हो । कृषकहरुलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदान दिने भएको छ । सुरुमै अनुदान दिँदा अनुदान लैजाने र पछि उत्पादनमा ध्यान नदिने खालको समस्याहरु देखिन थालेपछि उत्पादनका आधारमा कृषकलाई अनुदान दिने निर्णय गरिएको हो । कृषि र पशुपालनमा उत्पादनमा आधारित अनुदानले कृषकलाई थप प्रोत्साहन पुग्ने गाउँपालिकाको विश्वास छ ।
 गाउँपालिकाले प्राकृतिक विपत्तीबाट नागरिकलाई जोगाउनका लागि विपद कोष बनाउने र जहाँ विपद त्यहाँ काठेखोला अभियान सञ्चालन गर्ने भएको छ । प्राकृतिक विपत्तीमा परेका नागरिकलाई सहज रुपमा राहत र पुनस्थापनका लागि कोषमार्फत काम गर्ने बताईएको छ । 
 

प्रतिक्रिया