बागलुङ - बागलुङ महोत्सवको अवसरमा हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन गराइने भएको छ ।
यही पौष ११ गते देखि सुरु हुने आठौं बागलुङ महोत्सवमा धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चकोट, भकुण्डे, भैरवस्थान तथा पर्वतको कुश्मा लगायतको स्थानमा हेलि टुरको व्यवस्था गर्न थालिएको हो ।
गण्डकी प्रदेश अन्र्तगत विशेष गरि धौलागिरी क्षेत्रमा रहेका पर्यटकिय क्षेत्र र धार्मिक सम्पदाको प्रचार प्रसार र प्रबर्द्धनका लागि हेलिकप्टरबाट दृश्यावलोकनको व्यवस्था गरिएको संघका निवर्तमान अध्यक्ष नरेश कँडेलले बताए ।
आफ्ना अभिभावक माता पितालाई हवाई यात्राको अनुभव गराउन तथा कुनै विशेष धार्मिक स्थलमा लैजाने मन भएकाहरुलाई यो अवसरमा भएको कँडेलले बताए ।
बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा ११ गते देखि बाङ्गेचौर खेल मैदानमा महोत्सव हुँदै छ । व्यापार, कृषि, उद्योग, पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सङ्घले महोत्सव आयोजना गर्दै आएको छ ।
महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकोप्टर मार्फत महोत्सव स्थल तथा जिल्लाका पर्यटकीय गन्तव्यको दृश्य अवलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको सङ्घका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए ।
महोत्सवको अवसरमा न्युनतम ७ मिनेटको प्रतिव्यक्ति ९ हजार र अधिकतम १२ मिनेटको १५ हजार शुल्क निर्धारण गरिएको व्यवसायी अनोद श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको अवसरमा म्याग्दीको नर्थ एविसि जान चहने हरुको लागि प्रति व्यक्ति ३० हजारमा दृश्यावलोकन गराइने र त्यसको लागि टिकट बुकिङ खुल्ला गरिएको हेली संयोजक खगेश्वर पौडेलले जानकारी दिए । टिकट बुकिङ गर्न चाहनेले ९८५७६२१५८३ मा सम्पर्क गरि नाम दर्ता गर्न मिल्ले व्यवस्था गरिएको छ ।