गलकोटमा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने 

  • असोज २६, २०७९

बागलुङ- गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७९ मा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।  प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि २ लाख ११ हजार १ सय ११ बराबरको प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समुहले २ लाख ११ हजार १ सय ११, द्धितिय हुने समुहले  १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने आयोजकले जनाएको छ ।  यहि असोज २८ गते देखि कात्र्तिक ७ गते सम्म आयोजना गरिएको महोत्सवमा भलिबल सँगै अन्य  प्रतियोगिताहरु समेत सञ्चालन गरिने ड्रिम टिम गलकोटका अध्यक्ष रुपक पाण्डेले जानकारी दिए । 
भलिबल खेल गलकोटमा निकै प्रचलित खेल भएको र भलिबलबाट नै गलकोटका खेलाडिहरुले गलकोटको खेल क्षेत्रको विकासमा भुमिका खेल्दै आएकोले आगामी दिनहरुमा पनि भलिबल खेल प्रति गलकोटे खेलाडिहरुको लगाव बढाउनका लागि पनि महोत्सवमा भलिबलमा सर्वाधिक राशिको पुरस्कार राखिएको पाण्डेले बताए । ११ दिन सम्म गलकोटको मजुवाफाँटमा सञ्चालन हुने महोत्सवमा गलकोट डान्स च्याम्पियन, भ्वाईस अफ गलकोट, आम समुहहरुको रत्यौली गीत प्रतियोगिता, खुल्ला पुरुष रस्साकस्सी प्रतियोगिता, मजुवाफाँट देखि कोतमैदान सम्मको दौड  प्रतियोगिता स्लो बाईक रेश प्रतियोगिता, वार्ड स्तरिय भुपु भलिबल प्रतियोगिता लगायतका प्रतियोगिताहरु सञ्चालन हुने आयोजकले जनाएको छ । 
शुक्रबार देखि चल्ने महोत्सव सञ्चालनका लागि गलकोटका विभिन्न ठाँउहरुबाट महोत्सव स्थल सम्म आउने मोटरबाटो मर्मत तथा सरसफाई सँगै स्टल निर्माण तथा स्थल व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । ११ दिन सम्म सञ्चालन हुने महोत्सवमा विविध साँस्कृतिक एवम् प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरिएको छ । महोत्सव अवधिभर हेलिकप्टर मार्फत गलकोटका विभिन्न पर्यटकिय स्थलहरुको अवलोकन, बालउद्यान, रमाइलो मेला लगायतका मनोरञ्जनात्मक कार्यक्रम सहित सस्तो बजार सञ्चालन समेत रहने महोत्सव संयोजक होम थापाले जानकारी दिए । थापाका अनुसार महोत्सव अवधिभर गलकोटको पञ्चेबाजा, ऐतिहासिक सस्कृतिहरु प्रर्दशन एवम् राष्ट्रिय तथा चर्चित २ दर्जन बढि कलाकारहरुको समेत प्रस्तुति रहने बताए । 
 

प्रतिक्रिया