प्रेस युनियन निर्वाचन : संस्थापनपक्षबाट अध्यक्षको उम्मेदवार अनिता विन्दु

  • साउन ३, २०७९

काठमाडौं - नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा संस्थापन समूहका तर्फबाट अध्यक्षमा अनिता बिन्दुलाई उम्मेदवार बनाउने पक्का भएको छ।

स्रोतका अनुसार बालुवाटारमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो। त्यस्तै वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र महासचिवमा जगन्नाथ दुलाललाई उम्मेदवार  बनाउने तय भएको स्रोतले जानकारी दिएको छ।

अनिताले मंगलबार दिउँसो १ बजे होटल इन्द्रेणीबाट आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएकी छन्। त्यसैगरी उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्षसहित अन्य पदमा उठाउने उम्मेदवारबारे संस्थापनले छलफल गरिरहेको छ।

युनियनको अध्यक्षमा संस्थापन इतरबाट शिव लम्सालले दाबी गरिरहेका छन्। त्यसैगरी लम्सालसँगै दीपक आचार्य पनि अध्यक्षको दौडमा छन्। इतरबाट महासचिवमा दिलिप पौडेल खिला कार्की, नकुल अर्याल, र रमेश वाग्ले दौडमा छन्।

युनियनको उपमहासचिवको दौडमा युवराज गौतम, सुलोचना गौतम, भुवन शर्मा, कुसुम बिक पनि छन्। कोषाध्यक्षमा माधव धिताल, पदमराज जोशी र मित्र भण्डारीले इच्छा देखाएका छन्। सचिवमा खगेन्द्र भण्डारी, मेनुका ढुंगाना, लोकेन्द्र भट्ट, विजय रेग्मी, तीर्थ बस्नेत, कालिका महत, राधा खनाल, टीकाराम सुनार र एलपी देवकोटा पनि दौडमा छन्।

यसअघि युनियनको नेतृत्व सर्वसम्मत चयन गर्ने कोसिस भएको थियो। संस्थापनले अध्यक्ष र इतरले महासचिव लिने गरी छलफल भएको थियो। करिब आठ वर्षपछि प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुन लागेको छ।

प्रतिक्रिया